बुटवल समाचारदाता
बुटवल, जेठ २५ गते । बुटवल उपमहानगरपालिका–१५, सेमलारकी मनरूपा भुसाल ८७ वर्ष पुग्नुभयो । जीवनको अन्तिम प्रहरसम्म पनि उहाँलाई आफूले बर्सौंदेखि जोतभोग गर्दै आएको घरबास जग्गाको लालपुर्जा हातमा पर्दैन कि भन्ने चिन्ता थियो । बिहीबार त्यो दिन आयो, जुन दिन जोतभोग गरेको करिब ६० वर्षपछि पहिलो पटक उहाँको हातमा लालपुर्जा परेको छ । उहाँले बिहीबारको दिनलाई जीवनकै अविस्मरणीय दिनका रूपमा स्मरण गर्नुभयो । उहाँसँगै बुटवल–१५ का ४२ घरपरिवारले पनि घरबास रहेको जग्गाको करिब ५०/६० वर्षपछि लालपुर्जा पाएका छन् ।
बुटवल–१५, सेमलारकै दुर्गाप्रसाद भुसाल करिब ८० वर्ष हुनुभयो । उहाँको हातमा पनि बिहीबार नै लालपुर्जा परेको छ । उहाँका बुवाले जोतभोग सुरु गरेको सेमलारको जग्गामा ६० वर्षपछि पुर्जा हात परेको हो । रूपन्देहीमा २०२७ सालमा जग्गाको नापी भएको थियो । त्यतिबेला नापी गर्दा गाउँघरको जग्गाको नापी छुटेको थियो । पछि नापी गरेर लालपुर्जा दिने भनिए पनि त्यत्तिकै रोकिँदा आफूले जोतभोग गर्दै आएको र घरबास जग्गाको पुर्जा नपाउँदा स्थानीय निराश थिए । बिहीबार बुटवल–१५, सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जोतभोग र बसोबासको करिब ५० वर्षपछि पुर्जाविहीन सेमलारका ४२ घरका जग्गाधनीलाई लालपुर्जा वितरण गर्नुभएको हो । उहाँले बुटवलका अरू धेरै स्थानमा नापजाँच भएर पुर्जा दिन बाँकी सबैलाई छिटै पुर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपुर्जाविहीन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पुर्जा दिने गरी काम अगाडि बढेको बताउनुभयो ।
उहाँले गाउँ ब्लकका जग्गाको नापजाँच छुटेको भए वा कुनै समस्या रहेको भए बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरी पुर्जा दिने प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले ६१ वर्षअघिदेखि जमिन खरिद गरेर बसोवास गरेकालाई पुर्जा दिन पाउँदा खुसी लागेको र केही स्थानमा बसोबास र पुर्जाको विवरण फरक परेकाले त्यसको समेत सहजीकरण गरी पुनः नापजाँच गरेर पुर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पुर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकालाई लालपुर्जा वितरण गर्ने गरी काम भएको बताउनुभयो । कार्यक्रममा भूमि समस्या समाधान आयोग रूपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रूपन्देहीका नापी अधिकृत सुग्रिव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव रानालगायतले बोल्दै बुटवल उपमहानगरपालिकाभित्र प्रक्रिया पूरा गरी पुर्जा वितरणका लागि तयार भएका जग्गाको पुर्जा वितरणको काम अगाडि बढेको बताउनुभयो ।