• २५ जेठ २०८२, आइतबार

दर्ता नगरी सञ्चालित क्लिनिक बन्द

blog

बुटवल समाचारदाता

बुटवल, जेठ २५ गते ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा दर्ता नगरी सञ्चालनमा रहेका आठ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरेको छ ।

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बुटवलमा गरिएको अनुगमनका क्रममा दर्ता नगरी बर्सौंदेखि सञ्चालन गरिएका ल्याब र मेडिकल क्लिनिक बन्द गरिएको हो । जिल्ला अनुगमन समितिले बिहीबार दिउँसो बुटवलका मेडिकल क्लिनिक र ल्याबमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ११ मध्ये पाँच वटा क्लिनिक र तीन वटा ल्याब दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको अनुगमन समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बर्सौंदेखि बुटवलको अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिक बन्द गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मानिसको स्वास्थ्यसँग खेलबाड गरी बर्सौंदेखि दर्ताबिनै सञ्चालन गरिएका क्लिनिक र ल्याब बन्द गरिएको बताउनुभयो । शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी बिक्रीका लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामी जाँच गर्ने क्लिनिकसमेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको हो । 

त्यस्तै रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याबसमेत सञ्चालन गरेकाले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ भने चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ । चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याबसमेत सञ्चालन गर्दै आएको थियो । यसै गरी मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ । करिश्मा पोलिक्लिनक र राजधानी फार्मेसीले सञ्चालन अनुमति लिए पनि व्यवस्थित नभएकाले दुवैलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।