• १३ साउन २०८१, आइतबार

छ जना फरार प्रतिवादी पक्राउ

blog

अविनाश चौधरी
धनगढी, फागुन १८ गते ।
कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार छ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अदालतको फैसलापछि ति प्रतिवादी फरार भएका थिए । पक्राउ पर्नेमा लागू औषध मुद्दाको गोदावरी नगरपालिका–५ का २५ वर्षीय किरण बोहरा, चोरी मुद्दाको धनगढी उपमहानगरपालिका–१६ का सुनिल चौधरी, चेक अनादर मुद्दाको कसुरदार चुरे गाउँपालिका–१ का बीरबहादुर घर्ती छन् ।

यसैगरी, वन मुद्दाको प्रतिवादी चुरे गाउँपालिका–३ का ७० वर्षीय भीमबहादुर थापा, चुरे गाउँपालिका–६ का ४५ वर्षीय जीवनसिंह रावत र वन मुद्दाको लम्कीचुहा नगरपालिका–२ का सुधराम डङ्गौरा पनि पक्राउ परेका छन् । पक्राउ परेका सबै जनालाई कैद सजाय र जरिवाना भुक्तानका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।