• २२ वैशाख २०८१, शनिबार

वाफ महिला फुटबल : नेपाललाई इतिहास रच्ने मौका

blog

फाइल तस्बिर ।

काठमाडौँ,फागुन १७ गते । साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेल आज (बिहीबार) राति ९:४५ बजे हुँदैछ । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल मैदानमा हुने फाइनल खेलमा आमन्त्रित टोली नेपाल र पाँच पटकको च्याम्पियन जोर्डन भिड्दैछन् । 

जोर्डन तुलनात्मक रुपमा नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । फिफा वरीयतामा जोर्डन ७४औँ र नेपाल १०५औँ स्थानमा छ । जोर्डन यस प्रतियोगितामा अपराजित बन्दै फाइनलमा पुगेको थियो ।

नेपालले पनि अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेलमा नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीको अनुपस्थिति नेपाललाई महँगाे पर्न सक्नेछ । 

सावित्राले यस प्रतियोगिताको सबै खेलमा गरी सर्वाधिक नौ गोल गर्नुभएको थियो । सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलले हराउँदा पनि सावित्रा र प्रीति राईले उत्कृष्ट गोल गर्नुभएको थियो ।

फिफाको नियम अनुसार राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र कुनै पनि खेलाडीले राष्ट्रका लागि खेल्न पाउनेछ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो ।

प्रतियोगितामा समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपालले आज जोर्डनलाई हराएमा महिला फुटबलमा नयाँ इतिहास रच्नेछ ।

नेपालले महिला फुटबलको ३८ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक उपाधि जित्नेछ । नेपाली महिला टोली यसअघि विभिन्न प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधिविहीन बन्दै आएको छ ।