कुनै पनि मुलुकको समग्र विकासमा पूर्वाधार पहिलो सर्त हो । सडक, विमानस्थल, रेलमार्ग, बन्दरगाह आधुनिक विकासका महìवपूर्ण पूर्वाधार हुन् । खास गरी यातायात पूर्वाधारका रूपमा लिइने यस्ता पूर्वाधार निर्माण ठुलो साधन, स्रोत र प्रविधिलगायतको तारतम्य मिल्नुपर्ने हुन्छ । हुन पनि पूर्वाधारले नै आधुनिक विकासलाई प्रतिनिनित्व गरिरहेको हुन्छ । समग्र आर्थिक तथा सामाजिक विकासमा यस्ता यातायात पूर्वाधारको भूमिका सर्वोपरि हुन्छ । नेपाल जस्तो विकट भौगोलिक अवस्थिति भएको मुलुकमा यातायात पूर्वाधार निर्माण अवश्य पनि सहज छैन । त्यसमा पनि हवाई पूर्वाधार निर्माण त अझ चुनौतीपूर्ण छ ।
नेपालमा हवाई पूर्वाधार निर्माणमा विगतमा कमजोरी देखिएको छ । हवाई पूर्वाधारका निम्ति विमानस्थल निर्माण गर्दा नीतिनियमभन्दा राजनीतिक शक्ति हाबी भएको पाइएको छ । हवाई नीतिको उल्लङ्घन भएको छ । आवश्यकता र औचित्यभन्दा पनि आफू शक्तिमा भएका बेला विमानस्थल बनाई चुनावमा मत तान्ने प्रवृत्ति देखिनु विडम्बना हो । फलस्वरूप, मुलुकका कतिपय विमानस्थल पक्की भएर पनि अहिले सञ्चालनमै छैनन् भने कतिपय आवश्यक नै नभएको स्थानमा विमानस्थल निर्माणको पहल अगाडि बढाउने गरेको देखिन्छ ।
राष्ट्रिय हवाई नीतिले के कति दुरीमा विमानस्थल निर्माण गर्ने भन्ने स्पष्ट पारेको छ । हवाई नीति अनुसार हिमाली तथा पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा कम्तीमा ४० नटिकल माइल हवाई दुरीमा मात्रै विमानस्थल निर्माण गर्न सकिन्छ । हवाई क्षेत्रको दुरी नटिकल माइलमा नापिन्छ । एक नटिकल माइल एक माइलभन्दा अलि बढी हुन्छ भने सामान्य मापनमा एक माइल बराबर १.६ किलोमिटर हुन्छ । विमानस्थलबिच कम्तीमा २० नटिकल माइलको दुरी हुनुपर्ने नीतिगत व्यवस्था परिपालना गरिएन ।
विगतमा निर्माण भएका कतिपय विमानस्थलमा हवाई नीतिकै मापदण्डको परिपालना भएको छैन । उदाहरणका निम्ति थामखर्क र खानीडाँडाको हवाई दुरी १० नटिकल माइल छ भने सुर्खेत–भेरीगङ्गाको ११ नटिकल माइल छ । त्यस्तै रेसुङ्गा–अर्घाभगवतीको ७.५ नटिकल माइल, रुकुम चौरजहारी–रुकुम सल्लेको १४ नटिकल माइल, मसिनेचौर–जुफालको छ नटिकल माइल, कमल बजार–साँफेको १३ नटिकल माइल छ । त्यसै गरी फाप्लु–कागेलडाँडा आठ नटिकल माइल, खिजिचण्डेश्वरी–कागेलडाँडा १८.५ नटिकल माइल, रामेछाप–खिजिचण्डेश्वरीको १४ नटिकल माइल, थामखर्क–भोजपुरको दुरी १२ नटिकल माइल छ ।
सडक यातायात नपुगेको कुनै बेला हवाई यातायातको पूर्वाधार विस्तार गर्न विमानस्थल अति आवश्यक पनि थियो होला । सडक पूर्वाधारले छोएका स्थानमा अहिले पनि विमानस्थल बनाउने, विमानस्थल निर्माणलाई आवश्यकभन्दा शक्तिको आडमा साधन प्रयोगलाई साध्य बनाउने प्रवृत्तिसमेत देखिएको छ । यो गलत अभ्यासलाई अब भने विराम लगाउनु पर्छ । निर्माण भएकै कतिपय विमानस्थल अहिले गौचरणमा परिणत भएका छन् भने कतिपय कालोपत्र गरिएका विमानस्थलमा पनि जहाजले उडान भर्न सकेका छैनन् । सडक यातायात पुगेर आवागमन सहज भएपछि पहिले बनेका कतिपय विमानस्थल प्रयोगमा आउन नसक्नु स्वाभाविक पनि हो । ती पूर्वाधारलाई अब के कसरी प्रयोगमा ल्याउने भन्ने चासो र चिन्तासमेत सम्बद्ध निकायमा देखिन नसक्नु विडम्बना हो ।
हवाई पूर्वाधार राष्ट्रिय विकासको मेरुदण्ड नै हो । खास गरी पर्यटनको विकासमा हवाई पूर्वाधारलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ, हिलारी विमानस्थलले नेपालको पर्यटन उद्योगमा ठुलो योगदान पु¥याएको छ । पर्यटकीय मौसममा दिनमै दर्जनौँ साना विमान उडान भर्ने त्यस विमानस्थलको चाप असाध्य छ । सो विमानस्थलभन्दा राम्रो पूर्वाधार भएका देशका अनेकौँ विमानस्थलमा महिनौँ तथा वर्षौं उडान हुन नसकेका विडम्बनापूर्ण अवस्थासमेत विद्यमान छन् ।
अब निर्माण हुने विमानस्थल भने राम्ररी अध्ययन गरेर आवश्यकता र औचित्यका आधारमा हुनु पर्छ । लहडका आधारमा विमानस्थल निर्माण गरेर मुलुकको सीमित साधन र स्रोतको अपचलन गरिनु हुँदैन । नजिकै विराटनगरमा विमानस्थल हुँदाहुँदै धरानमा समेत अर्को विमानस्थल बनाउने प्रयास अगाडि बढेको थियो तर त्यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनले उपयुक्त नभएको निष्कर्ष निकालेको छ । धरानमा मात्र होइन, देशका अन्य कतिपय स्थानमा अझै पनि विमानस्थल निर्माणको प्रयास भइरहेको हुन सक्छ । त्यसमा राम्ररी अध्ययन भई आवश्यकता, भौगोलिक दुरी, औचित्य आदिका आधारमा मात्र विमानस्थल निर्माण हुनु वान्छनीय छ ।