नौरते नेपाली
सिँजा (जुम्ला), पुस १६ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ती जडान कार्य थालनी गरेको छ । नगरको बजार क्षेत्रलाई उज्यालो बनाउन पहिलो चरणमा सडक बत्ती जडान कार्य थालेको हो । बजार क्षेत्रमा दुई सय वटा सडक बत्ती जडान भएको चन्दननाथ नगरपालिकाका ईन्जिनियर लोकेन्द्र महतले बताउनुभयो ।
बजार क्षेत्रका विभिन्न चोक, गल्ली, सबै क्षेत्रमा प्राविधिक स्टमेट अनुसार दुई सय सडक बत्ती जडान भएको छ । बत्ती जडानपछि बजार क्षेत्र झिलिमिली भएको छ । दुई वटा बत्ती, प्राविधिक खर्च, जडान, चार हजार मिटर तार लगायत सबै गरी कुल १७ लाख ५० हजार जडान खर्च भएको ईन्जिनियर महतले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा बजार क्षेत्रमा सडक बत्ती जडानले शान्ति सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । नगरका सबै वडामा सडक बत्ती जडानको तयारी गरिएको उहाँको भनाइ छ । नगरपालिकाका १० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् ।
यद्यपी राष्ट्रिय प्रसारण लाइनदेखि चुकेनी विद्यतुको लाइन पनि गाउँगाउँमा विस्तार भइसकेको छ । सडकमा बत्ती नहुँदा रातिको समयमा आउजाउ गर्न निकै असहज हुने गरेको छ । आगामी आर्थिक वर्षमा सडक पुगेका सबै बस्तीमा सडक बत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरिने उपप्रमुख प्रमुख रामदेवी खड्काले जानकारी दिनुभयो ।
सरकारी लगानीमा बनेका संरचना दिगो नहुने, स्थानीयमा अपनत्व नहुने भएकाले दिगोपनमा ध्यान दिन समेत सुझाव दिइएको छ । हिउँद लागेसँगै जुम्लामा चोरीका घटना बढेको, ट्युसन पढ्ने विद्यार्थीलाई कठिनाई भएको अबस्थामा साँझ ६ देखि बिहान ६ बजेसम्म बल्ने गरी सडक बत्ती जडान भएपछि स्थानीयले राहत महसुश गरेका छन् ।