• १५ पुस २०८२, मङ्गलबार

प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त

blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

काठमाडौँ, पुस १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री कार्कीले  बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का अध्यक्षसमेत रहनुभएकी जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । 

निधनप्रति दुःख व्यक्त गर्दै उहाँले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । 

‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु’, प्रधानमन्त्री कार्कीले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाल सरकार र जनताको तर्फबाट, म उहाँका परिवार, साथीभाइ र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’ 

जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको हो ।  वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । 

उहाँको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मङ्गलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए । बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ ।