• १३ असोज २०८१, आइतबार

मनाइयो चैतलो पर्व

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन १३ गते । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका– १, २, ५ र ६ का महिलाले फरक पहिरनमा सजिएर यस वर्षको चैतलो पर्व मनाएका छन् । विशेष गरी यी वडाका सिमकोट र ठेहे गाउँका महिलाले गाउँको सार्वजनिक स्थानमा (चौपाडी) गाउँभरिमा महिला जम्मा भएर गीत गाउँदै चैतालो मनाएका हुन् ।

सिमकोट गाउँपालिकाका यी वडामा बर्सेनि फागुन १२ गते अनिवार्य रूपमा चैतलो मनाउने गरिन्छ । प्रत्येक घरबाट महिला परम्परागत पोसाक, गरगहनामा सजिएर जाने गरिन्छ । यो पर्वलाई सधवा महिलाले विशेष गरी पहेँलो रङको रेसमी पछ्यौरा ओढेर विभिन्न गरगहनाका साथै नौलो कपडा (घाग्रो र चोली) लगाएर वसन्तको महिमासहित १२ महिना, १२ देवदेवीका साथै प्राकृतिक प्रशस्ति र महिमाका गीत गाउने चलन रहेको सिमकोट–५ का बलजिते नेपालीले बताउनुभयो । विशेष गरी वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने पर्व भएकाले वर्षभरि अन्य ऋतु पनि राम्रो र शुभहोस्, सफल र सुविकाल होस् भनेर गीत गाउने गरिन्छ । वर्षभरि कुनै पनि प्रकारको प्राकृतिक तथा मानवीय प्रकोप नहोस् भन्ने कामनासहित पनि यो गीत गाइन्छ ।

सिमकोटको खाद्योक गाउँको बाह्रदेऊ चौपाडीमा रहेको ठुलो लिङ्गो भएको सार्वजनिक स्थलमा मस्टाको धामीलगायत अन्य देवताका धामीले शिला हालेर शुभारम्भ गरिन्छ भने त्यसपछि माङ्गल (मंगल) गीत विधिवत् रूपमा पर्वको सुरुवात गरिन्छ । गीत गाउन जान्ने महिला पहिलो लाइनमा लाग्ने र उनीहरूले गाएको गीत अन्य सहभागी महिलाले पनि नाच्दै गाउने गर्दछ । उमेर अनुसार महिला चैतलो खेलमा लाग्ने गर्छन् । बेलुका गीत गाउने महिलालाई घर घरमा बोलाएर खाजा खुवाउने चलन पनि छ । अन्त्यमा मस्टो देवताको धामीले जौका दाना पूजा गर्ने स्थानमा चढाएर चैतलो गीतको अन्त्य गर्नुहुन्छ । त्यसपछि तिनै चैतलो खेल्न आएका महिलाबिच चुडकिला गाउने कार्य पनि हुन्छ । यो पर्वमा विधवा महिलाले चैतलो खेल्न जान नहुने सामाजिक मान्यता छ ।