• १२ साउन २०८१, शनिबार

कृषिलाई प्राथमिकता दिँदै राक्सिराङ

blog

राक्सिराङका किसानलाई जर्सी गाई हस्तान्तरण गर्दै पालिका अध्यक्ष राजकुमार मल्ल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन १२ गते । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषिलाई प्रवर्द्धन गर्न प्राथमिकता दिएको छ । पालिकाले रैथाने बालीको संरक्षण, नियमित रूपमा हाट बजारका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कृषि गरिरहेका किसानलाई पालिकास्तरबाट सहयोग उपलब्ध गराएको हो । 

गाउँपालिकाले पशुपालक किसानलाई उन्नत जातको बोयर बोका र गाई सहयोग गरेको छ । पालिकाले बिउँका लागि ११ वटा बोयर जातको बोका र १० वटा जर्सी गाई उपलब्ध गराएको हो । पालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौला, ३ नं. वडा अध्यक्ष उत्तम वाइबा, सचिव भावना कँडेल, पशुपन्छी शाखाका सङ्गम विश्वकर्मा लगायतले किसानलाई जर्सी गाई र बोयर जातको बोका प्रदान गरिएको थियो ।

पालिकाले बाख्रा पालन गर्दै आउनुभएका किसानलाई बोयर जातको बोका वितरण गर्दै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले व्यावसायिक रूपमा बाख्रा पालन गरे स्थानीय सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालयमार्फत् माग भएअनुसार मौरी, चिउरी, गाई लगायतका विभिन्न कृषिमा निर्भर हुने र आयमूलक कार्यमा जोडिन पालिका स्तरबाट सधैँ सहयोग रहने उहाँको भनाइ छ । “हाम्रो क्षेत्रमा बाख्रा पालनका लागि राम्रो सम्भावना छ, बाख्रा पकेट क्षेत्र बनाउने तयारी पनि गरेका छौँ, बाख्राको लागि उन्नत घाँसको व्यवस्था पनि मिलाउँछौँ,” अध्यक्ष मल्लले भन्नुभयो । 

त्यस्तै राक्सिराङ–३ का पशुपालक किसानलाई १० वटा जर्सी गाई हस्तान्तरण गर्दै दुधका लागि आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनमा पनि लाग्ने पालिकाको योजना छ । व्यावसायिक रूपमै दुध उत्पादन गरेर दुधबाट बनेका परिकारको बजारीकरण गरिने उल्लेख छ । उन्नत जातका गाईबाट नश्लसुधार गरी सबैलाई जीवन निर्वाह गराउने र बजार व्यवस्थापन दिगो बनाउने लक्ष्य पालिकाले राखेको छ । किसानको मागलाई ध्यानमा राखी ठाउँ अनुसारको पकेट क्षेत्र बनाउँदै जाने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।