• १ जेठ २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय उडान डाइभर्ट

blog

काठमाडौँ, फागुन ११ गते । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै पनि विभिन्न मुलुकबाट नेपाल भित्रिएका जहाज भने अझै भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन । 

यसै क्रममा बिहीबार भारतको मुम्बईबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाज खराब मौसमका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालका वैकल्पिक विमानस्थलमा अवतरण नभई सोझै भारतको लखनउ डाइभर्ट भएको छ । 

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउमा अवतरण हुने गरेका थिए । अहिले देशभित्रै तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भए पनि भारततर्फ डाइभर्ट हुने समस्या भने ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

आफ्नै दुई वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत विमान किन भारत पठाइन्छ भन्ने चासोबारे जवाफ दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जहाजले उडान भर्नुअघि नै वैकल्पिक विमानस्थल खुलाउने प्रावधान अनुसार कहाँ अवतरण गर्ने भनेर पहिले नै प्रस्ट भइसक्नुपर्ने भएका कारण जहाज लखनउ डाइभर्ट भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण (मिस्ड एप्रोच) गर्न नसक्ने भएपछि जहाज लखनउ डाइभर्ट भयो । लखनउमा इन्डिगोको आफ्नै ग्राउन्ड स्टाफ, प्राविधिक जनशक्ति, प्राविधिक, इन्धन र आपत्कालीन उपकरणको व्यवस्था भएकाले त्यसतर्फ डाइभर्ट भएको हो । ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसन सिस्टमलगायतका कारण ककपिटलाई ग्राउन्डबाट यहीँ ग्राउन्ड गर भनेर बाध्य पार्न पनि त मिल्दैन ।”

त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँमा वर्षा, हावाको गति र भिजिबिलिटी कम हुँदा भैरहवा र पोखरामा पनि त्यस्तै हुन्छ भन्ने अवस्था भने हुँदैन । यस्तो अवस्थामा भारततर्फ डाइभर्टले निरन्तरता पाउनुमा हवाई कम्पनीले भैरहवा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा नलिनु पनि एक प्रमुख कारण रहेको छ । हवाई कम्पनीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न पूर्वस्वीकृति नलिएकै जहाज भारततर्फ डाइभर्ट भएको हुन सक्ने स्रोतको भनाइ छ ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।