• ९ मंसिर २०८१, आइतबार

विद्यालय भवन निर्माण

blog

गौ बोम बस्त माविको नवनिर्मित भवन । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), फागुन ९ गते ।
म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।

एक करोड ६ लाख २० हजार रुपियाँ लागतमा नवनिर्मित आठ कोठे भवनको मङ्गलबार एक कार्यक्रमका बिच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन (एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।

पाहार ट्रष्टले नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङका अनुसार भवन निर्माणमा ट्रष्टले ५३ लाख १० रुपियाँ आर्थिक साझेदारी गरेका हुन् ।गत आर्थिक वर्ष फागुन महिनादेखि सुरु भएको उपभोक्ता समितिमार्फत भवन निर्माणको काम चालु आर्थिक वर्ष फागुनमा सम्पन्न भएको थियो ।यस अघि जिर्ण भवन र साँघुरो कक्षा कोठामा पठनपाठन हँदै आएपछि समाजसेवी क्याप्टेन जितबहादुर घर्ती मगरको पहलमा पाहार ट्रष्टले गाउँपालिका र स्थानीयवासीसँगको साझेदारीमा भवन निर्माण गरेको हो ।

भवन उद्घाटन गर्नुहुँदै प्रेसिडेन्ट ग्रीनले भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने बताउनुभयो । पाहार ट्रष्ट युकेमार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सयभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरु निर्माण भएको उहाँले बताउनुभयो । युकेमा लामो समयसम्म शिक्षण पेशा समेत गर्नुभएका प्रेसिडेन्ट ग्रीनले नेपालका दुर्गम बस्तीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष गर्बुजाले भवन निर्माणसँगै पढाइलाई पनि गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । स्तरीय भवन निर्माण भए पनि बसाइँसराइँका कारण गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । भवन संक्षणमा विद्यालय र स्थानीयवासीको दायित्व भएको उहाँहरुको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समिति सदस्य राजमति पुन बुढाले भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउनुभयो । पहिले साँघुरो कक्षा कोठामा पठनपाठन हुँदै आएको थियो । प्रअ अमृत बुढाथोकीका अनुसार कक्षा १० सम्म पढाइ हुने विद्यालयमा दुई सय ५० जना विद्यार्थी अध्ययनरत छन् । ट्रष्टले यसअघि पनि यहीँ विद्यालयमा दुई कोठे पुस्तकालय भवन निर्माण गरिदिएको छ ।