काठमाडौँ, फागुन ९ गते । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यक्षमतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असन्तुष्टि जनाउनुभएको छ ।
चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरबाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको भन्दै मन्त्री बस्नेतले केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकाललाई स्पष्ट विवरण पेस गर्न निर्देशन पनि दिनुभएको छ ।
मङ्गलबार मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री बस्नेतले कार्यक्षमता सुधार गर्नसमेत निर्देशन दिनुभएको हो । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएको भन्दै मन्त्री बस्नेतले त्यसका कारण र उपायहरू पेस गर्न निर्देशन दिनुभएको हो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आव सकिन चार महिना बाँकी हुँदासम्म तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेको भन्ने जस्ता विवरण पेस गर्ने केन्द्रको तरिका ठिक नभएको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, “तोकिएका अधिकांश माइलस्टोनको प्रगति १० प्रतिशतभन्दा कम छन् । यो तरिका ठिक भएन । किन त्यसो भएको हो ? चित्तबुझ्दो जवाफ दिनुहोला ।” वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति असाध्यै न्यून रहेको उहाँको भनाइ छ ।
केन्द्रको प्रगति विवरण अनुसार साना जलविद्युत् आयोजनाको मर्मतसम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्यक्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले पनि केन्द्रको कार्यशैलीप्रति आपत्ति प्रकट गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पु¥याउने लक्ष्य राखिएको छ ।
केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लाग्दै आएको छ ।