• १३ असोज २०८१, आइतबार

बैरागीका रचना पुस्तकमा

blog

काठमाडौँ, फागुन ८ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ) को अभिनन्दन गरिएको छ । पाँचथर स्रष्टा मञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो ।

समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो ।

सो अवसरमा कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक  रचनाहरू’ पुस्तक लोकार्पणसमेत गरिएको थियो ।

कृतिका सम्पादक डा. देवी क्षेत्री दुलालले बैरागी काइँलाका विसं २०२१ देखि २०२३ सम्म करिब दुई वर्षका विभिन्न पत्रपत्रिकामा छापिएका कविता, निबन्ध, मुक्तक र कथा सङ्कलन गरी प्रकाशन गरिएको बताउनुभयो । 

समालोचक प्राडा कुमार कोइरालाले कवि बैरागी काइँला र मोहन कोइरालाले कवितामा प्रयोगवादी धारका कविता लेखेको चर्चा गर्दै कविका प्रारम्भिक रचनाहरू हास्यव्यङ्ग्य, नारीवाद, सामाजिक विकृति र विज्ञानमा आधारित भाव दिने सिर्जनाहरू पुस्तकमा सङ्कलन गरिएको बताउनुभयो । 

उहाँले बैरागी काइँलाका थुप्रै कृति प्रकाशन भए पनि सिर्जनाकर्मको सुरुवातका दिनमा लेखिएका र पुस्तकका रूपमा नछापिएका कविता, कथा, मुक्तक पनि सो पुस्तकमार्पmत पढ्ने अवसर पाएको बताउनुभयो । प्राडा कोइरालाले कविका पछिल्ला सिर्जना, लिम्बू भाषाका धार्मिक पुस्तकलगायत कविता लेखिए पनि उहाँको हास्यव्यङ्ग्य भावका सिर्जना भने नआएको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले मूर्धन्य कवि बैरागी काइँलाको सम्मानमा प्रतिष्ठानका तर्फबाट सहकार्य गर्न पाएकोमाखुसी व्यक्त गर्नुभयो । त्यसै गरी सर्जक प्राडा मधुसूदन गिरीले कवि बैरागी काइँलाको साहित्यिक धारको चर्चा गर्दै आगामी दिनमा थप कृति नेपाली साहित्य फाँटमा आउने विश्वास व्यक्त गर्नुभयो ।