म जाँदै छु । कहाँ ? त्यो त थाहा छैन । जब जाने ठाउँ थाहा छैन । किन जाने भन्ने जानकारी छैन । कसलाई भेट्न जाँदै छु भन्ने याद छैन भने जाने कुरा केका लागि ? मनले न मस्तिष्कलाई उत्तर दियो । न त मस्तिष्कले मनको जवाफ पर्खेको थियो । अचम्मको कुरा के भने यो मन र मस्तिष्क जीवनको रफ्तार र मानिसको कोलाहलदेखि आजित भएको थियो । चाहन्थ्यो आफ्नै मृत्युको पर्यावरणीय चक्र पूरा गर्न ।
धुवाँ उडेर आकाश ढाक्छ । पानी बगेर समुद्र पुग्छ ।
ढुङ्गाहरू शिखरबाट बेँसी झर्छन् । धुवाँको स्वाद पिरो हुन्छ, आँसुका लागि । फेरि पनि धुवाँ बन्नु छ, जीवनको अन्तिम सत्य । अघिसम्म नबिझाएका आँखा रातो पार्नमा धुवाँको मुस्लो काफी छ । पहिला सग्लो देखिएको एउटा आकृति एकाएक धुवाँ बनेर छिन्नभिन्न हुन्छ । सयौँ मानिसको मन जस्तै ।
धुवाँ उड्दै गएर हरायो आकाशको निलो पर्दाभित्र । उसै गरी हराए अन्तिम अनुहार हेर्न आएका आफन्त र साथीभाइ । आखिर एउटा स्वप्नको केन्द्र ब्युँझिएपछि पुनः देख्न सकिन्न । यदी फेरि निदाउन सकियो भने अर्को सपना थपिने हो । यो क्रम जबसम्म निन्द्रा रहन्छ तबसम्म निरन्तर चलिरहन्छ । हामीले देखेको सपनालाई आलिङ्गन गर्न त सक्दैनौँ मात्र बयान गर्न सकिन्छ । सत्यको खोज गर्ने हो भने अनुभूत गरेर भन्न सकिन्छ सबैको साझा बाटो यतै हो ।
चैतन्यको आफ्नै आकार हुन्छ । जब यो निराकार हुन्छ । चैतन्य आफैँ शून्यमा परिणत हुन्छ । धेरैले तस्बिर होस् वा चित्र मनको अन्तरकुन्तरमा राखेको हुन्छ । जुन सधैँ त भन्न सकिन्न तर बेला बेला उकालो ओरालोमा भेट भए जस्तै लाग्छ । पानी पँधेरामा देखे झैँ लाग्छ एउटा आकृति । कतै त आवाजको सुरिलो गुञ्जन सुनिन्छ । यो अन्तरमनमा झस्का दिनका लागि काफी हुन्छ ।
हिँड्दै गएको बाटोमा कसैले उसको गुनको चर्चा गरे, कतिले नियतपूर्ण बदख्वाइँ । यो मानवीय दोष हो । यहाँ गुण खोजेर पनि केही हुने होइन । नत आरोपले गल्तीको सुधार हुन्छ । कहिल्यै गुण र दोषको भार खेप्नु नपर्ने बाटोमा लागेको ऊ अब खरानी र धुवाँ बनेर आकाश र पानी दुवैमा मिसिएको छ । स्वामित्व र अस्तित्व दुवै गुमाएकालाई माया र घृणाले केही फरक पर्दैन । पर्छ त केवल आफन्तलाई पीडा मात्र । तर पनि चेतनशील र विवेकी प्राणीहरू निरन्तर यो कर्म गरिरहन्छन् ।
धुवाँले उसलाई कहाँ पु¥यायो होला ? कति भुमरी कति उतारचढाव सह्यो होला । चैतन्य शून्य भएको उसमा दुःखाइ छैन । उचाल्नु र पर्छानुको कुनै मलतब छैन । माथि पुग्नु र तल झर्नुको कुनै महìव छैन । कसैको विश्वास र अविश्वासले केही फरक पर्दैन । फरक लोकमा प्रवेश गरेपछि अब उतैको नियम लाग्छ । उतैको कानुन मान्नु पर्छ ।
पानीमा खरानीसँगै बगेका अँगारका टुक्रा कहिले एकआपसमा ठक्कर खाएर जुध्न तम्सिन्छन् । हाम्रै स्वभाव बोकेर । केही क्षणमा फेरि मिले जस्तै बिस्तारै तैरिएर बग्छन् । खरानी कहिले फिज निकालेर सानाठुला फोकामा परिणत हुन्छ । नयाँ सृष्टिमा रमाएका च्याउ र छिचिमिरा जस्तै । फेरि फुटेर आफैँ छरपस्ट हुन्छन्, च्याउ र छिचिमिराको आयु जस्तै ।
यो हेर्नेका लागि एक दृश्य मात्र हो तर भोग्नेका लागि पूरा जीवन । कतै छल्काले नराम्रोसँग उद्वेलित बनाउँछ । बिस्तारै बगाउँदै लगेको टुक्रालाई पहरामा हिर्काएर सचेत गराउँछ । बालुवामा रगडेर उतार्छ । नसियत दिए झैँ । कहिले बहाबको सन्तुलन मिलाएर आरामले डुङ्गा विचरणको याद गराउँछ । आफैँलाई दोधारमा पार्ने यो दृश्य मनमोहक हो कि पीडादायी केही भन्न सकिन्न । जसरी घरमा भर्खर कसैको मृत्युमा शोक सभा चलिरहेको छ भने अस्पतालमा नवआगनुतक बच्चाको चित्कारले मिठो उत्सव मनाइरहेको छ ।
यता भर्खर बाबुको चिना जलाएर छोरो फर्किएको छ । अस्पतालबाट नातिले चिना लेख्ने मान्छे पर्खिरहेको छ । भावुकता र उत्साह एकै पटक दुई आँखा भएका छन् । कुनबाट आँसुको बहाब गर्ने र कुनबाट हर्षाश्रु झार्ने । हैन, फूलसँग काँडा हो कि काँडासँग फूल यो छुट्याउन सकिने परिवेश छैन । यो घामपानी इन्द्रेणी जस्तै तिरमिर तिरमिर छ सबैका आँखामा ।
हरेकका आँखामा आँसुको भेल थामिँदै गएको छ । नदीमा बग्दै गएको खरानी र अँगार आँखाबाट ओझेल परे जस्तै । साँच्चै बग्दै गएको खरानी समुद्र पुग्छ कि पुग्दैन होला । कि घोलिएर आफैँ पानीमा समाहित हुन्छ । जीवन खरानीमा समाहित भए जस्तै । प्रश्न एकोहोरो जति सोधे पनि आखिरमा उत्तर आफैँले आफूमा खोज्नु छ । अँगारले आफूमा आफ्नो कालोपन लुकाउन कति खरानी र बालुवा टाँस्यो होला ? कि अझै अहम् बोकेर दौडिरहेको छ जीवन जस्तै । मनले जति प्रश्नोत्तर गरे पनि मस्तिष्कले कुनै कुराको उत्तर खोज्ने चेस्टा गर्दैन । जीवनको मुक्ति मोहको मुक्ति हो भन्ने दुवैलाई थाहा छ । यही कारण शय्यामा बसेको शरीर चुपचाप रहन्छ आगो सहेर ।
मानव यस्तो जाति हो, जो सधैँ उचाइ मात्र चाहन्छ । उसलाई तल परेको वा तल झरेको मन पर्दैन । तब न हरेक यत्न गर्छ माथि पुग्नका लागि । फगत आफू, आफन्त र परिवारलाई पीडामा पारेर । र, पनि चाहेको प्राप्त गर्न हम्मे हम्मे छ । माथि टाकुरामा भएका ढुङ्गाहरू बिस्तारै बेँसी झर्दै गएका छन् । उनीहरूमा लड्दा वा तल झर्दा कुनै आत्मग्लानि छैन । बरु लड्दै जाँदा अरू गोलाकार, बलियो, चम्किलो र आकर्षक बनेका छन् । यसमा उनीहरूले आत्मसम्मान पाए । कतै देव बनेर त कतै भान्सा र घरको पर्खाल बनेर । यसको अर्थ लड्दैमा वा तल झर्दैमा जीवन सकिन्छ भन्ने होइन । हामीले यो विषयलाई न त बुझ्ने चेष्टा ग¥यौँ न अनुसरणको विषय बन्यो । दुःखको मुख्य कारण यही हो ।
बीजहरू झरेर नयाँ बिरुवाको अङ्कुरण गर्छन् । त्यही सानो बीज विशाल वृक्षमा रूपान्तरण हुन्छ । लाखौँ मानिसलाई छहारी दिन्छ । त्यो शीतलपन शरीर र मनले ग्रहण गर्छ । घामको पोलाइ र पानीको चुटाइको पर्वाह गर्दैन । घामले सुकाएका डाली हुन् वा पानीले माटो काटेर नाङ्गै पारेका जरा सबै सहेको छ । अझ कुनै पीर चिन्ताबिना नयाँ मुजुरा हालेर आफ्नो फैलावट कायम राखेको छ । यो प्राकृतिक नियम भए पनि शिक्षाका लागि एउटा ठुलो विश्वविद्यालय हो । हामी किताबको हावापानी पढेकाले यो प्रकृतिको मौलिक शिक्षा न गुरुहरूले हामीलाई बुझाए न हामीले बुझ्ने कोसिस ग¥यौँ । यही कारण हो हामी प्रकृतिको धेरै विषय बुझ्दैनौँ ।
हामीले बालेको दियो त्यतिबेलासम्म आरामले बल्छ जतिबेलासम्म हुरीको झोकालाई झेल्न सक्छ । यसमा दुइटा सत्य छन् एउटा झोका झेल्नु वा निभ्नु । हामी जबसम्म झोका झेल्न सक्षम हुन्छौँ त्यो जीवन हो । जहाँ मर्न मर्न आँटे पनि फेरि बल्न सकिन्छ र अन्धकार हुँदै गएको समय र आफूलाई उज्यालो पार्न सकिन्छ । अर्को हो झोका आफूभन्दा बलियो हुनु । यो सत्य मृत्यु हो । जहाँ निभ्दै गरेको बत्तीबाट उज्यालोको सट्टामा तेलको अमिलो गन्ध फैलिन्छ आफ्नै अनुहारभरि । त्यसपछि अन्धकारमा समाहित हुन्छ अरूलाई उज्यालो बनाइरहेको बत्ती आफैँ ।
पुराना पातहरू झरेर नै प्रकृति दुलही बन्छे । चराले पनि आफ्ना पुराना प्वाँखलाई थुतेर फाल्छन् । पन्जा र चुच्चोको सन्तुलन मिलाउँछन् । यो आहार प्राप्तिका लागि मात्र नभई जीवननिर्वाहका लागि पनि उत्तिकै आवश्यक छ । हामी मृत्यु एउटा अकाट्य सत्यलाई रोक्न खोज्छौँ । यो सिमसारको पहिरो जस्तै हो जति बार, बन्धन गरे पनि बगेर आफैँ गहिरो स्थानमा समाहित हुन्छ, निरन्तर बग्दै । यहाँ न मनले काम गर्छ न मस्तिष्कले ।
नदी किनारमा अरूलाई जलाएर गाडिएको मुढो त्यसै कालो बनेर उभिएको छ । क्षमा पाउन पनि समय पर्खिनु पर्छ । (जसरी औँसीले पूर्णिमा बन्नका लागि पन्ध्र दिनको यात्रा तय गर्नै पर्छ ।) उसलाई उखल्ने अर्को बाढी नआउन्जेल अरूलाई गरेको अन्यायको प्रायश्चित्त पर्खेर ।
यतिबेला रूपको चर्चा हुँदैन । उसको सुन्दरताका सबै अङ्ग आगोले निलिसकेको छ । योग्यताको उचाइ धुवाँ बनेर उडिरहेको छ । पदप्रतिष्ठा शरीरबाट टुक्रिएर झरेका अङ्ग झैँ बिस्तारै चिताको भुङ्ग्रोमा खसिरहेका छन् । चारैतिरबाट घेरेको तातो रापले अहङ्कारलाई विन्दुमा खुम्च्याएको छ । अतः एउटा निस्सार अस्तित्वको भागदौड यहीँ सकिएको छ ।