बोमलाल गिरी
नवलपुर, मङ्सिर २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ । शनिबार बिहान उहाँले चितवन र नवलपुर जोड्ने पूर्वपश्चिम राजमार्गमा निर्माण सुरु गरिएको पुलको निरीक्षण गर्नुभएको हो ।
ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरी काम अघि बढाउन उहाँले ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
ठेकेदार तुँदी निर्माण कम्पनीले ३६ महिना अर्थात २०८४ जेठ भित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । प्राकृतिक प्रकोप नआए यस वर्ष २५ देखि ३० प्रतिशतसम्म फाउण्डेशन र सब–स्ट्रक्चरको काम सकिने कम्पनीले जनाएको छ ।
एक अर्ब ६९ करोड रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो । ४२० मिटर लम्बाइ र ११ मिटर चौडाइ हुने अत्याधुनिक प्रविधियुक्त दुई लेनको यो पुलमा आर्चब्रिज, केबल नेटवर्किङ, सस्पेन्सन संरचना र साइकल लेन रहनेछ । साथै पानी जहाज सञ्चालन गर्न मिल्ने गरी दुई ठाउँमा टावर समेत बन्नेछ ।
२०३८ सालमा बनेको हालको पुल जीर्ण बन्दै गएपछि दीर्घकालीन आवश्यकताका लागि नयाँ पुल निर्माण थालिएको हो । पुलको शिलान्यास २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री घिसिङले नारायणी तटबन्दको पनि जानकारी लिनुभएको छ ।