• २७ मङ्सिर २०८२, शनिबार

पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २७ गते ।
पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।

सेवाग्राहीसँगै जनप्रतिनिधि र कर्मचारीले समेत आफूमा मधुमेह र रक्तचापको छ छैन थाहा पाउन सहज हुने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

पालिका भित्रका नागरिकको स्वास्थ्य राम्रो बनाउने उद्देश्यले पहिलो चरणमा सुगर र रक्तचापको जाँच थालेको बताउदै रेग्मीले विस्तारै अन्य उपचार समेत गर्ने बताउनुभयो ।

मधुमेह जाँचका लागि ३० रुपियाँका कीट पालिकाले खरिद गरेको र पालिकामा आउने सेवाग्राहीलाई सोही मार्फत जाँच हुने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताउनुभयो ।

स्वास्थ्य परीक्षण सेवा प्रभावकारी बनाउन स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले समन्वय र सहजीकरणमा पालिकाले खटाएको छ ।