भक्तपुर, मङ्सिर २७ गते । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च तथा सभास्थलमा शनिबार बिहानैदेखि विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, नेता र कार्यकर्ताहरूको चहलपहल बढ्दै गएको छ ।
महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्ण रूपमा सम्पन्न भइसकेको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभएको छ । उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको हो । ‘‘उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको छ,’’ उहाँले बताउनुभयो ।
आज दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै औपचारिक रूपमा महाधिवेशनको शुभारम्भ गर्ने तयारी गरिएको छ । उद्घाटन समारोहमा देशभरका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ताका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ । विशेष गरी महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राख्दै विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली बिहानैदेखि सक्रिय रूपमा परिचालन गरिएको छ । बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच भइरहेको प्रहरीले जनाएको छ ।
महाधिवेशन उद्घाटन हुन केही घण्टा मात्र बाँकी हुँदा सल्लाघारी क्षेत्र उत्साहपूर्ण बनेको छ । एमालेले यो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक सुदृढीकरण र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।