• १३ असोज २०८१, आइतबार

नेपाल लिटरेचर फेस्टिभल आजदेखि पोखरामा

blog

११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन समारोहमा उपस्थित अतिथि र सहभागी । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन ३ गते । प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ । 

फेवाताल किनारको बाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । 

उहाँले साहित्यिक महोत्सवले पोखरालाई समुन्नत सहरका रूपमा विकास गर्न थप टेवा पुर्‍याएको उल्लेख गर्नुभयो ।  मुख्यमन्त्री पाण्डेले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी पनि दिनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनमा कवि, कलाकार र लेखकको योगदान उच्च रहेको बताउँदै उहाँहरूप्रति सदा सम्मान रहेको र रहिरहने बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का बिखर्चीले आफैमा सुन्दर पोखरालाई साहित्यिक महोत्सवले अझै सुन्दर भएको बताउनुहुँदै भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सके मात्र मुलुकको राष्ट्रियता बलियो हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्गा बराल वात्स्यायानको कार्टुन सङ्ग्रह ‘वात्स्यायान एण्ड हिज बाब्र्स’को विमोचन गर्नुभएको थियो । वात्स्यायनका कार्टुनहरूको प्रदर्शनी पनि बिहीबारबाटै सुरु भएको छ । 

बुकवर्म फाउण्डेशनको आयोजना रहेको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक निरज भारीले पोखरामा हुने साहित्यिक महोत्सवले कवि, लेखक र साहित्यकारका कलमलाई अझै बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन लगत्तै नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले विद्वत्व प्रवचन दिनुभएको थियो ।

५८ बढी सेसन हुने यसपालिको फेस्टिभलमा ३ सय बढी अतिथिहरू सेसनमा सहभागी हुने बताइएको छ । पोखरा सेरोफेरोका विषयमा बहस, छलफल र अन्तरसंवाद हुने फेस्टिबलमा साँझपख साङ्गीतिक रमझमले हरेक दिन सेसनको बिट मारिने फाउण्डेसनले जनाएको छ । कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लु फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उहाँको द ट्राभलिङ ब्यान्ड आदि समूहले फेस्टिबलमा संगीतिक माहौल बनाउने छ । गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायत अतिथिको रूपमा विभिन्न सेसनमा सहभागी हुनुहुनेछ ।

विश्वचर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई वर्ड फेस्टिबलमा सहभागी हुने कार्यक्रम रहेको आयोजक संस्था बुकवर्म फाउण्डेसले जानकारी दिएको छ । यस्तै, ‘क्लाउड’ उपन्यासका लेखक चन्द्रहाँस चौधरी, लेखक जेनिस प्यारिअटलगायत विदेशी पाहुना पनि पोखरालाई साहित्यमय बनाउन उपस्थित हुने फाउण्डेसनले जनाएको छ । 

उक्त साहित्यिक महोत्सवमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृखंला खतिवडालगायत वक्ताका रूपमा सहभागी हुनेछन् ।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, जनमत पार्टीका नेता सिके राउत, लेखक खगेन्द्र सङ्ग्रौला, प्राध्यापक डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्राध्यापक कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहने निर्देशक भारीले जानकारी दिनुभयो ।

११ वर्ष अघि अर्थात् सन् २०११ मा काठमाडौँ झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल छैटौँ संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ । फेस्टिबल फागुन ७ गतेसम्म चल्नेछ ।