• १३ साउन २०८१, आइतबार

कालीमाटी फलफूल तथा तरकारी बजार

नेपाली उत्पादनलाई प्राथमिकता दिन जोड

blog

काठमाडौँ, फागुन २ गते । देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिको ३० औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन् ।  

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले भन्नुभयो, “उत्पादक किसानले मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने समस्यालाई तत्काल अन्त्य गरेर अहिले भएका बजारको तह घटाउनु पर्छ ।” 

किसानलाई बजारले प्रत्यक्ष जोड्ने र किसानको पसिनाको उचित मूल्य प्राप्त गर्ने वातावरण यस बजारमार्फत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । दुःख र लगानी गर्ने किसानले मूल्य नपाएर तरकारी सडकमा फाल्नुपर्ने अवस्था आउनु दुःखदायी भएको भन्दै उहाँले अब यस्ता खालका समस्या देख्न र सुन्न नपर्ने वातावरण बनाउन के गर्न सकिन्छ आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । 

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले तरकारी उत्पादन किसानदेखि उपभोक्तासम्म आउँदा बजारको तह धेरै भएकाले किसान र उभोक्ता मारमा परेकाले यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

समितिका अध्यक्ष मदन भुजेलले कालीमाटी बजारलाई किसानमैत्री बनाउन पहल भइरहेको बताउनुभयो । उहाँले किसान र उपभोक्ताबिच अहिले रहेको बजारको तह कम गर्नका लागि समितिका तर्फबाट के गर्न सकिन्छ आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । 

समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बजारको हालको अवस्था र आगामी दिनमा बजार सुधारका योजना प्रस्तुत गर्नुभयो ।