• २६ पुस २०८१, शुक्रबार

सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारण सभाको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । ‘हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठुलो समस्याको रूपमा रहेको छ’ उहाँले भन्नुभयो,  ‘सरकारी क्षेत्रमा अनियमितता र चुहावटको ठुलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने लगायतका धेरै समस्या देखिने गरेको छ ।’

यी समस्या समाधान गर्न सुशासनलाई समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्ने र त्यसका लाग सरकारले सुशासन र सामाजिक न्यायलाई समृद्ध राष्ट्र निर्माणको आधार बनाउन खोजेको उहाँले चर्चा गर्नुभयो । हिजो निरंकुशतन्त्रले जनताका अधिकारहरू कुण्ठित भएको बेलामा राजनीतिक अधिकारको एजेण्डा प्रधान भएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि आफूहरू सशस्त्र जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर आएको स्मरण गर्नुभयो । 

अब फेरिएको राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने एजेण्डा प्रमुख बन्न गएको उल्लेख गर्दै उहाँले थप्नुभयो,  ‘अब जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य सर्त हो ।’ 

नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रूपमा कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यी चारै क्षेत्रमा व्यक्तिगत वा सामूहिक लगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चित गर्ने र त्यसबाट आउने प्रतिफलको हिस्सेदार आम जनतालाई बनाउने गरी राष्ट्रिय पुँजीको विकासमा ध्यान दिन उद्योग व्यापारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘दलाल पुँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठिक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पुँजीको निर्माण गर्दै जाँदा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’  

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीपतिहरूको आत्मविश्वास बढाउँदै उनीहरूलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने र त्यसका लागि स्वयं प्रधानमन्त्रीकै नेतृत्वमा सरकार लागिरहेको पनि मन्त्री शर्माले स्पष्ट गर्नुभयो । 

संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्तिका लागि नेपालमा सरकारी–निजी–सहकारीको तीन खम्बे अर्थनीति अङ्गालिएको उल्लेख गर्दै उहाँले यी तीनैवटा क्षेत्रबिच समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो । भूकम्प, कोभिड १९ जस्ता सङ्कट र पुराना सरकारहरूले गरेको अनुत्पादन क्षेत्रको लगानी र उनीहरूले छाडेर गएको आर्थिक दायित्वका कारण सरकारलाई नयाँ काम गर्न केही गाह्रो भए पनि आर्थिक क्षेत्रको पुनरुत्थान गर्दै सरकार अघि बढिरहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।