• २६ वैशाख २०८१, बुधबार

पाकिस्तानमा निर्वाचन लक्षित विस्फोट : १२ जनाको मृत्यु

blog

क्वेटा, पाकिस्तान, माघ २४  गते । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”

“प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उहाँले भन्नुभयो ।  

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भन्नुभयो, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।” 

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइनु भएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । 

बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटना पनि भएका छन्, जसमा कम्तीमा दुई उम्मेदवारको गोली हानी हत्या भएको छ र दर्जनौँलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ८ः०० बजे मतदान सुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ ।

लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो । रासस–एएफपी