• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

blog

पश्चिमी वायु । फाइल तस्बिर

काठमाडौँ, माघ २० गते । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।”

यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री सेल्सियस रहेको तथा आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बिचमा रहने मौसमविद् अधिकारीले बताउनुभयो । 

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणयता बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस