ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), जेठ ४ गते । जेठो हिमालको उपाधि हासिल गरेको ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा ५३२ जनाले सफल आरोहण गरेका छन् । चालु वसन्तकालीन याममा छ समूहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हालसम्म ४४ जनाले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने उक्त हिमालमा सन् १९५० जुन ३ का दिन पहिलो पटक मानव पाइला परेको थियो । सफल आरोहणसँगै अन्नपूर्णले त्यसबेला संसारभर चर्चा कमाएको थियो ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।
म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व नीलगिरि साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोलादेखि भुस्केटमेला हुँदै आरोही अन्नपूर्ण प्र्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ का दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
हिमाल आरोहणको गौरवपूर्ण इतिहास भएको अन्नपूर्ण आरोहणको यही जेठ २० गते ७५ वर्ष पूरा हुँदै छ । हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण गाउँपालिकाले हीरक महोत्सव मनाउने तयारी थालेको छ । हिमाल आरोहणको गौरवमय इतिहास भएको अन्नपूर्णमा यसपालि सात दिनसम्म विविध कार्यक्रमका साथ हीरक महोत्सव मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पुनले भन्नुभयो, “हीरक महोत्सवमार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रूपमा प्रचारप्रसार गरेर गौरवपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भिœयाउने हाम्रो उद्देश्य छ ।” गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हीरक महोत्सव मूल समारोह समिति गठन गरी महोत्सवको प्रचारप्रसारसमेत थालिएको छ ।
आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । महोत्सवले अन्नपूर्णको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवका असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रमसमेत रहेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा अन्नपूर्ण हीरक महोत्सव मूल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताउनुभयो । महोत्सवका अवसरमा आधार शिविरसम्म पदयात्रा, ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण, पुस्तक विमोचन, पुख्र्यौली नृत्य प्रस्तुति, म्याराथन प्रतियोगिता, सालिक अनावरण र खुला सङ्ग्रहालय उद्घाटनलगायतका कार्यव्रmम आयोजना गरिने भएको छ । पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगसहित अन्य आरोहीसमेतलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो, “म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यव्रmमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौँ । जेठो हिमालसमेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री ओली, विभिन्न देशका राजदूत, मौरिस हर्जोगका छोरा माथिएस हर्जोग, कम्तीमा १० जना आरोही, फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिसहितको टोलीलाई आधार शिविरमा पु-याउने तयारी छ ।” उक्त दिन फ्रान्सेली कलाकारले आधार शिविरमै साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीबाट मौरिस हर्जोगले अङ्ग्रेजीमा लेखेको ‘दी अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताब पोखरामा विमोचन गरिने कार्यक्रमसमेत रहेको पालिका अध्यक्ष पुनले बताउनुभयो । पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खानेबस्ने सुविधासहितका होटेल सञ्चालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माण अघि बढेको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्रापछि आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।