• २८ पुस २०८१, आइतबार

मनाङमा माटामा घर पाउनै मुस्किल

blog

यदुप्रसाद भट्ट
मनाङ, माघ २० । 
कंक्रिटको घर निर्माणले तीव्रता पाएसँगै मनाङमा माटामा घरहरू पाउनै मुस्किल भएको छ । विकाससँगै बढ्दो पर्यटन अनि पश्चिमा संस्कृतिको प्रभावले गर्दा माटाका परम्परागत घरहरू मासिँदै गएका हुन् ।

एकातिर वर्षा हुँदा पानी चुहिने अनि चिसो हुने भएकाले माटाका घरहरू लोप हुँदै गएको स्थानीय बताउँछन् । अर्कोतिर मनाङलाई पर्यटक आकर्षित गर्न तथा सुविधासम्पन्न होटलको व्यवस्था गर्न पर्ने भएकाले पनि परम्परागत माटाका घरहरू लोप हुँदै गएको हो । ‘‘सबै पर्यटक सुविधासम्पन्न घरमा बस्न रुचाउँछन्, पुराना माटाका घरमा सेवासुविधा दिन पनि गाह्रो हुन्छ ।,’’ युवा व्यवसायी राम गुरुङ भन्नुहुन्छ, ‘‘यो हाम्रो रहर होइन बाध्यता हो ।’’

हिउँले असर नपार्ने भए पनि वर्षामा पानी चुहिएर बस्नै नहुने गुरुङको भनाइ छ । उहाँ वर्षाले माटाका घर चुहिने र भत्किने भएपछि आधुनिक तरिकाबाट प्रविधिको प्रयोग गरी कंक्रिटको घर बनाउन थालिएको बताउनुहुन्छ । परम्परागत माटाका घर हेर्न आउनेको सङ्ख्या धेरै भए पनि आफूहरूले हेर्नकै लागि भनेर संरक्षण गर्न नसकिएको उहाँको भनाइ छ ।

‘‘पहिले पहिले मनाङमा वर्षा नै हुँदैनथ्यो, हिउँ मात्रै पर्थ्यो ।,’’ स्थानीय कर्माछिरिङ गुरुङ भन्नुहुन्छ, ‘‘अहिले पानी बढी हिउँ कम भएको छ त्यसैले पनि कंक्रिटको घर निर्माण गर्नु हाम्रो बाध्यता हो ।’’ पुरानो घरको आकर्षण हुने भए पनि मौसम प्रतिकूल हुँदा असहज हुने भएकाले पुराना परम्परागत घरहरू मासिँदै गएकोमा गुरुङले चिन्ता व्यक्त गर्नुभयो ।

मनाङमा लोकप्रिय मानिएको ऐतिहासिक तथा पुराना घरलाई संरक्षण गर्न नसक्ने हो भने भावी पुस्ताका लागि कथा बन्नेमा दुईमत छैन । यस्ता परम्परागत घर संरक्षणमा स्थानीय तह नै लाग्नुपर्ने तथा सरकारसँगै स्थानीयवासी सचेत हुनुपर्ने भएको छ ।