• २७ वैशाख २०८१, बिहिबार

तल्लो सेती जलविद्युतबाट वार्षिक ५२ करोड युनिट विद्युत उत्पादन गरिने

blog

फाइल तस्बिर

दमौली (तनहुँ), माघ १९ गते । तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो । 

इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढाइएको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरिएको श्रेष्ठले बताउनुभयो । 

जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उहाँको भनाइ छ । आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका ३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । 

आयोजनाबाट बन्दीपुर गाउँपालिका-६, व्यास नगरपालिका-१३, १४, देवघाट गाउँपालिका-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । देवघाट गाउँपालिका-४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिने छ । 

यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत २५ अर्ब रहेको छ ।

आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । आयोजना प्रमुख भण्डारीका अनुसार वि.सं.२०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । 

कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३ दशमलव ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत-निप्पन कोई जापान जेभीसँग वि.सं.२०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । रासस