• २८ पुस २०८१, आइतबार

प्रधानाध्यापक दम्पतीद्वारा अक्षयकोष स्थापना

blog

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेललाई अक्षयकोषको रकम हस्तान्तरण गर्दै खड्का दम्पती । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल 

फिदिम, माघ १९ गते । पाँचथरमा पूर्व प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यम विस्तारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । कुम्मायक गाउँपालिका १ खाल्डेमा रहेको खाल्डे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उहाँकी श्रीमती गीता खड्काले विद्यालयमा दुई लाख ५० हजार रकम रहेको अक्षयकोष स्थापना गर्नुभएको हो । श्रीमती गीता खड्का सोही विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षाहरुमा अङ्ग्रेजी माध्यम विस्तार गर्न र शैक्षिक गुणस्तर सुधार गर्न मद्दत पु र्‍याउन अक्षयकोष स्थापना गरेको खड्काले बताउनुभयो ।

खड्का  दम्पतीले दिवंगत मातापिताको नाममा स्थापित कोषको नाम ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ राखिएको छ । अङ्ग्रेजी माध्यममा पढाइ नहुँदा कतिपय अभिभावकले बालबच्चालाई कक्षा चारदेखि अन्यत्र लैजाने गरेको पाएपछि अक्षयकोषमार्फत विद्यालयलाई मद्दत गर्ने सोच बनाएको पनि खड्काले बताउनुभयो । "जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन । म प्रअ हुँदा नै कतिपय अभिभावकले बालबच्चा टाढाका विद्यालयमा अङ्ग्रेजी पढाउन लगेको देखेपछि अक्षयकोष बनाउने सोचेका थियौं," खड्काले भन्नुभयो ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेलले  सरकारले उपलब्ध गराउने बाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालाहरुलाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको बताउनुभयो । अध्यक्ष पौडेलको परिवारले नै सो विद्यालयमा अक्षयकोष स्थापनाको सुरुवात गरेको छ ।