• २८ वैशाख २०८२, आइतबार

सीमामा उच्च सतर्कता

blog

सचिन पाख्रेल/जयकृष्ण यादव 

इटहरी, वैशाख २८ गते । भारत र पाकिस्तानबिच बढेको द्वन्द्वको असर पूर्वी नेपालको सीमानाकामा समेत देखिन थालेको छ । विशेष गरी कोशी प्रदेशका नेपाल–भारत सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ठुला तथा साना नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग खुला सिमाना जोडिएको नाकामा विद्यमान सुरक्षा व्यवस्थामा व्यापक परिवर्तन र कडाइ गर्दै थप सुरक्षाकर्मी परिचालन गरी निगरानी सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यस क्रममा सुनसरीको कोशी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका बस्तीको गस्तीमा नेपाली सुरक्षाकर्मी वृद्धि गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सुनसरीको ६२ किलोमिटर खुला सीमा भारतसँग जोडिएको छ । 

सीमा क्षेत्रमा कुनै पनि अवाञ्छित गतिवधि भएमा तुरुन्त कारबाही गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ । प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानलगायतका उच्च अधिकृत र प्रतिनिधिसहितको टोलीले सीमासँग जोडिएका सुरक्षा पोस्टको स्थलगत निरीक्षणसमेत गरेको छ । यस क्रममा नेपाली सुरक्षा र प्रशासनिक टोलीले सीमावर्ती जिल्ला र क्षेत्रमा परिचालित भारतीय सुरक्षा निकायका अधिकृतसँग भेटघाट र छलफलसमेत गरेको बताइएको छ । 

सीमाक्षेत्रमा अवाञ्छित तथा आपराधिक गतिविधि रोक्न उच्च सतर्कता अपनाएर जाँचलाई बढाइएको छ । त्यसै गरी नाकाक्षेत्रबाट भारत र नेपालतर्फ आवतजावत गर्ने सर्वसाधारणको परिचयपत्र जाँच गर्ने साथै व्यक्ति र 

सवारीसाधनको समेत रेकर्ड राख्ने कार्य सुरु गरिएको छ । प्रजिअ मिश्रले सीमाक्षेत्र हुँदै नेपाल–भारत आवतजावत गर्ने व्यक्तिलाई सरकारी परिचयपत्र अनिवार्य गरिएको र आवतजावत गर्ने व्यक्तिको विस्तृत विवरण राख्ने व्यवस्था मिलाएको बताउनुभयो । उता भारतीय सुरक्षाकर्मीको टोलीले तालिम प्राप्त कुकुरको परिचालन गरी सीमा निगरानी बढाएको छ । 

सुनसरीको खुला सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीका १३ र सशस्त्र प्रहरी बलका ११ स्थायी युनिट खटिएका छन् । पछिल्लो परिस्थितिलाई मध्यनजर गरी केही स्थानमा अस्थायी सुरक्षा युनिट स्थापना गरिएको छ ।  

  यसैबिच सुनसरी र भारतको अररिया तथा सुपौल जिल्लाको सीमामा आपराधिक गतिविधि हुन नदिन र घुसपैठ हुन नदिने उद्देश्यका साथ एक हप्तादेखि दैनिक २४ घण्टै नेपाल र भारतको सुरक्षाकर्मीले सीमामा संयुक्त गस्ती थालेको जनाएको छ ।

सुनसरी सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीले  संयुक्त गस्ती सुरु गरेको जनाएको छ । नाकाहरू र दसगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेको हो । 

नेपाल–भारत खुला सिमानामा गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणमा सहयोग पुग्ने, आपराधिक गतिविधि र घुसपैठ हुन नदिने सुरक्षाकर्मीको भनाइ छ । भारत र पाकिस्तानबिचको तनावका बिचमा शान्ति सुरक्षासहित मानव बेचबिखन, अवैध चोरी पैठारी र खुला सीमामा हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ । 

जिल्लामा रहेको नेपाल र भारतका खुला सिमानामा संयुक्त गस्तीले निरन्तरता पाएको सशस्त्र प्रहरी बल भन्टाबारीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक केदारजङ्ग थापाले बताउनुभयो । दसगजा क्षेत्रमा संयुक्त गस्ती प्रभावकारी भएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार एसएसबीका विभिन्न युनिटसँग मिलेर सशस्त्र प्रहरीले संयुक्त गस्ती गरिरहेको छ । “भारतका सीमा सुरक्षाका लागि खटिएका एसएसबीसँग दसगजामा संयुक्त गस्ती भइरहेको छ, यसले दसगजाको सुरक्षासँगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ ।” यसै गरी बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार भारत–पाकिस्तानबिच बढ्दो सैन्य तनावसँगै मधेश प्रदेशको दक्षिणी सीमा क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरीको बर्दीबासस्थित छिन्नमस्ता वाहिनीका अनुसार मधेश प्रदेशका आठ वटै जिल्लाको भारतसँग पूर्वपश्चिम ४६१.८ किलोमिटर खुला सीमा छ । सप्तरीदेखि पर्सासम्म मूल, छोटी र अन्य गरेर २३३ सीमा नाका छन् । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा स्थितिका कारण सीमा नाकाबाट हुन सक्ने अनधिकृत घुसपैठ र अवाञ्छित गतिविधि नियन्त्रणका लागि सीमा आवागमनमा कडाइ गरिएको सशस्त्रको छिन्नमस्ता वाहिनीले जनाएको छ । वाहिनीपति कृष्ण ढकालले भारत–पाकिस्तान तनाव बढेयता आठ वटै जिल्लाका सीमानाकामा वारपार गर्नेको लगत राख्न थालिएको जनाउनुभयो । 

सुरक्षा सतर्कता बढाएपछि खुला सीमाबाट पहिले झैँ निर्वाध आवागमनमा सशस्त्र प्रहरीले कडाइ थालेको छ । मुख्यतः दक्षिणी सीमानाकाबाट नेपाल प्रवेश गर्ने जोसुकैले परिचय खुल्ने प्रमाण बोक्नु अनिवार्य गरिएको छ । सशस्त्र प्रहरीले सीमापारिबाट आउनेलाई आठ वटै जिल्लाको प्रवेश विन्दुमै नाम, ठेगानालगायतका लिखित विवरणसहितको फारम भरेर मात्र नेपाल प्रवेश गर्न दिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेपछि सीमानाकामा यात्रु विवरण राख्न थालिएको हो । नेपालबाट पारि जानेसँग पनि भारतीय एसएसबीले यस्तै विवरण लिन थालेको छ । 

यात्रु विवरणका साथै सीमाक्षेत्रमा अहिले १८७ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकता परेको स्थानमा थप क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको पनि ढकालले बताउनुभयो । उहाँका अनुसार नाकाबाहेकका खुला क्षेत्रबाट आवागमन नियन्त्रणका लागि २४ घण्टे सघन गस्ती सुरु गरिएको छ । 

भारत बिहारको सीतामढी र मुधवनी जिल्लासँग महोत्तरीको ३८.४६ किमी दक्षिणी सीमालाई संवेदशील मानिन्छ । यी नाकामध्ये भिट्ठामोड र रघुनाथपुरमा सशस्त्र डिएसपीको कमान्डमा दुई वटा चेकप्वाइन्ट र सशस्त्र निरीक्षकको कमान्डमा सात वटा बोर्डर आउट पोस्ट गरी नौ वटा युनिट तैनाथ गरिएको छ । भारदह समाचारदाता सुधा देवका अनुसार छिमेकी दुई देश भारत र पाकिस्तानबिच आपसी द्वन्द्व चर्किएपछि सप्तरी जिल्लाको सीमा क्षेत्रमा प्रहरीले जाँचमा कडाइ गर्नुको साथै र सुरक्षा सतर्कता बढाएको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेलाई जाँच गरी परिचयपत्र हेरेर रेकर्ड राख्न सुरु गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । सशस्त्र सुरक्षाबल सप्तरीले भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा गस्ती गरिरहेको छ । सप्तरीमा ७८ किलोमिटर भारतसँग सिमाना जोडिएका सबै नाकामा सुरक्षा व्यवस्था कडा राख्न बोर्डर आउट पोस्ट बिओपीलाई सक्रिय बनाएको उहाँले जानकारी दिनुभयो ।