• २८ वैशाख २०८२, आइतबार

धार्मिक पर्यटनमा अग्रणी

blog

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक रूपले अत्यन्त महत्वपूर्ण गण्डकी प्रदेशका ११ जिल्लामा सुन्दर, शान्त र रमणीय स्थलहरू छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित सबैभन्दा अग्लो भूभागका रूपमा धौलागिरी हिमाल (८१६७ मिटर) र होचो भूभागका रूपमा नवलपुरको त्रिवेणी सुस्ता रहेको रहेको यस प्रदेशले हिमालदेखि तराईसम्मको भूभाग समेटेर बनेको गण्डकी प्रदेश नेपालको एक महìवपूर्ण र पर्यटकीय हिसाबले पनि धनी प्रदेशका रूपमा पर्दछ । हिमाल, पहाड र तराई भूभाग मिलेर गण्डकी प्रदेशको क्षेत्रफल २१ हजार ५०४ वर्ग किमी रहेको छ । 

मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, मनाङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी ११ जिल्ला भौगोलिक र हावापानीको दृष्‍टिकोणले नेपालमा पाइने सबै प्रकारको हावापानी भएको प्रदेश हो । गण्डकी प्रदेशको कुल क्षेत्रफलमा हिमाली भूभाग पाँच हजार ८१९ वर्ग किमी (२६.८ प्रतिशत), पहाडी भूभाग १४ हजार ६०४ वर्ग किमी (६७.२ प्रतिशत) र तराई भूभाग एक हजार ३१० वर्ग किमी (छ प्रतिशत) रहेको छ । यस प्रदेशमा विश्वका अग्ला १४ वटा हिमचुचुरामध्ये नेपालका आठ वटामा सातौँ अग्लो धवलागिरि, आठौँ अग्लो मनासलु र १० औँ अग्लो हिमाल अन्नपूर्ण प्रथम रहेका छन् । गण्डकी प्रदेशमा दर्जनौँ हिमशृङ्खलासँग धार्मिक, पर्यटन, कृषि, जलविद्युत्, पदयात्रा, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक खेल एवं प्राकृतिक दृश्यावलोकनका साथै विश्वभरबाट आउने पर्यटकको रोजाइमा रहेको चर्चित अन्नपूर्ण पदयात्रा आर्कषक पर्यटकीय गन्तव्य रहेका छन् । 

बहुभाषी, बहुधर्म र बहुजातिले गण्डकी प्रदेश सम्पन्नशाली रहेको छ । मित्रराष्ट्र चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर गण्डकी प्रदेशमा पर्छ । अनेक सम्भाव नै सम्भावनाको खानी रहेको गण्डकी प्रदेशको समृद्धिको मुख्य आधारका रूपमा कैयौँ सुप्रसिद्ध धार्मिक स्थललाई लिन सकिन्छ । प्रदेशभित्र रहेका ससाना धार्मिक सर्किट अनगन्ती रहेका छन् । आउनुहोस् गण्डकी प्रदेशका चर्चित धार्मिक स्थल चिनौँ ।

मुक्तिनाथ मन्दिर

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थलका रूपमा चिनिएको मुक्तिनाथ मन्दिर नेपालका चारधाम (पशुपतिनाथ, रुरुक्षेत्र, वराहक्षेत्र र मुक्तिक्षेत्र) मध्येमा पर्दछ । समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मन्दिरमा नेपाल, भारत तथा तेस्रो मुलुकमा रहेका हिन्दु र बौद्ध धर्मावलम्बी बर्सेनि लाखौँको सङ्ख्यामा दर्शनका लागि पुग्छन् । मुक्तिनाथ दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास रहेको छ ।

हिन्दु धर्मग्रन्थ अनुसार ब्रह्मदेवले मुक्तिनाथमा योगरूप यज्ञ गरेको भनाइ छ । त्यस्तै बौद्धमार्गी मत अनुसार भारतबाट बौद्धमार्गी पण्डित कैलाश मानसरोवर दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको उल्लेख छ । मुक्तिनाथ मन्दिर परिसरमा नरसिंह गुम्बाभित्र गुरु पद्मसम्भवको मूर्ति प्रतिष्ठापित छ । पद्मसम्भव हिमाली भेकमा बौद्ध धर्म फैलाउने गुरु मानिन्छ । मन्दिरमा बौद्धमार्गीको मूल पुजारी आनी र हिन्दुका पुजारी पनि छन् । मुस्ताङ प्रवेश गर्ने अधिकांश नेपाली र भारतीय यात्रुको गन्तव्य नै मुक्तिनाथ मन्दिर हुने गरेको छ ।

दामोदरकुण्ड

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित धार्मिक स्थल दामोदरकुण्ड समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइमा रहेको छ । हिन्दु धर्मावलम्बीले ज्यादै पवित्र मान्ने शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान दामोदरकुण्ड हो । लोघेकरको चराङबाट सुरु हुने दामोदरकुण्ड यात्रा निकै जोखिमपूर्ण भए पनि बर्सेनि सयौँको सङ्ख्यामा धार्मिक तीर्थयात्री पुग्ने गरेका छन् । यसलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहानसमेत भनिन्छ । कुबेरका छोराले दामोदरकुण्डमा स्नान गरी मुक्ति प्राप्त गरेको धार्मिक मान्यता छ । 

दामोदरकुण्डमा तीन वटा जलाशय चक्रकुण्ड, दुधकुण्ड र तामाकुण्ड छन् । यीमध्ये मुख्य कुण्ड चक्रकुण्ड हो । चक्रकुण्ड र दुधकुण्ड एक स्थानमा पर्छ भने तामाकुण्ड करिब एक सय मिटर टाढा छ । पैदलसँगै घोडा सयरबाट पुगिने दामोदरकुण्ड क्षेत्रलाई लक्षित गरी गोरेटो बाटो निर्माण गरिएको छ भने भविष्यमा सडक सञ्जालले समेत जोड्ने लक्ष्य रहेको छ । कुण्डमा दर्शन गर्न जाने तीर्थालुका लागि पूर्वाधारसमेत बनाउन थालिएको छ । उच्च क्षेत्रमा भएकाले लेक लाग्ने समस्याले धार्मिक तीर्थयात्री बिरामी पर्ने गरेकाले स्वास्थ्योपचारको व्यवस्था हुन अत्यावश्यक देखिएको छ ।

गलेश्वर मन्दिर

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम मन्दिर एउटै चक्रशिलामा अवस्थित छ । सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहेको यस मन्दिर परिसरमा कहिल्यै नसुक्ने जलवराहकुण्डसमेत रहेको छ । १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वरबाबाले तपस्या गरेको गलेश्वर क्षेत्रमा जडभरत गुफा, भगवान् शिव, विष्णु, हवनकुण्ड, १०८ शिवलिङ्गसहित मन्दिर परिसरमै स्नानका लागि कालीगण्डकी नदीको पानीले धारासमेत बनाइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधामा ठुला पर्वको भोलिपल्ट र साप्ताहिक रूपमा सार्वजनिक स्थानमा भेटी गन्ने गरिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकाररूपी चिह्न मानवनिर्मित नभई स्वयम् उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

बागलुङ कालिका भगवती

बागलुङ नगरपालिका–२ मा अवस्थित कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यस मन्दिरमा दर्शन र पूजापाठ गरे मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहेको छ । हिन्दु धर्ममा कालिका भगवतीको महìवपूर्ण स्थान रहेकाले नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत दर्शनार्थीको आगमन बर्सेनि बढ्दो क्रममा रहेको छ । मन्दिरमा बडादसैँ र चैत्राष्टमीमा विशेष मेला लाग्ने गर्दछ । 

१९० रोपनी क्षेत्रफलमा फैलिएको पाँच सय वर्ष पुरानो मन्दिरमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभकार्य गरिन्छ । मन्दिर परिसरमा डेढ सय मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको जलसमेत ल्याइएको छ । भक्तजनले देवीको आशीर्वाद प्राप्त गर्ने विश्वासका साथ तेलको दियो प्रज्वलन गरी पूजा, अनुष्ठान गर्नुका साथै यहाँ धेरै अविवाहित विवाह गर्न पनि पुग्ने गरेका छन् । विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैते दसैँ मेलाको परम्परा बसेको इतिहास छ । तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरूप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किंवदन्तीसमेत पाइन्छ । मन्दिरमा पशुबलि दिने चलन छ ।

पर्यटकको रोजाइमा पञ्चकोट 

बागलुङ नगरपालिका–६ स्थित बागलुङ बजारको शिरमा सर्वसिद्धिधाम पञ्चकोट छ । समुद्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा रहेको आकर्षक धार्मिक गन्तव्य एक दशकको अवधिमा गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को नेतृत्वमा विसं २०७१ सालमा बृहत् महायज्ञ आयोजना गरी सुरु भएको भौतिक संरचना धमाधम बन्न थालेपछि अहिले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।

पञ्चकोटमा अहिले सिसमहल, गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत अन्य आकर्षक संरचना तयार भएको छ, हालसम्म पञ्चकोटमा ५५ करोड रुपियाँ लगानी भइसकेको अनुमान छ । ‘विश्व शान्ति कलश’ निर्माणका लागि विभिन्न समयमा महायज्ञसहित धार्मिक गतिविधि हुने गरेको छ । १५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी कलश निर्माणको कामसमेत भइरहेको छ । ११ तला हुने कलश तीन तलासम्म प्रयोग गर्न मिल्ने र त्यसभन्दा माथि हेर्नका लागि मात्रै बनाइने बताइएको छ । यस क्षेत्रबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

गुप्तेश्वर गुफा

पर्वत जिल्लाको सदरमुकाम कुस्मा नगरपालिकामा रहेको गुप्तेश्वर गुफा साततले अलौकिक गुफा हो । भगवान् शिवलाई पति पाऊँ भनी पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित नेपालकै लामो गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघेसङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्ने गर्दछ । गुफाभित्र भगवान् शिवका दसौँ पाउहरू, महाकाली, महालक्ष्मी र सरस्वतीका मूर्ति, शिवलिङ्ग, सरस्वती माताको रूप, शिव पञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवान्का आकृति भएका मूर्ति छन् । विसं १९९० मा स्थानीय रत्नबहादुर कार्कीले घाँसदाउरा काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएको स्थानीयको भनाइ छ । सात सय मिटर लामो गुफामा प्रचारप्रसार र पूर्वाधारको भने अझै अभाव छ ।

कालाञ्जर पर्वत

पर्वतको जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको धार्मिकस्थल कालाञ्जर हम्पाल लेक जिल्लाको सबैभन्दा उच्च ठाउँमा रहेको धार्मिक क्षेत्र हो । धार्मिक रूपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा धेरै ऋषिमुनिले तपस्या गरी सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रीडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गङ्गासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्या स्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख भएको पाइन्छ । एक पटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ । समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनासलुलगायत १५ भन्दा बढी हिमशृङ्खला देखिन्छ ।

प्रसिद्ध तालवाराही

गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका–६, बैदाममा फेवातालको बिचभागमा अवस्थित प्रसिद्ध तालवाराही मन्दिर पोखरा घुम्न आउने अधिकतम पर्यटकको रोजाइमा पर्छ । फेवातालको करिब चार रोपनी क्षेत्रफलमा फैलिएको सानो टापुमा भएको तालवाराही मन्दिरलाई प्राचीन उपहारका रूपमा समेत लिने गरिन्छ । विसं १४४७ मा मन्दिर निर्माण भएको इतिहास छ । यही वर्षको चैतमा भत्काइएको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण भएको थियो । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले खरको झुप्रो बनाई स्थापना गरेको मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ । पोखराको गहना फेवातालमा रहेको तालवाराही आसपासबाट हिमशृङ्खलाको दृश्यावलोकनसहित प्राकृतिक सौन्दर्यलाई समेत नजिकबाट निकाल्न सकिन्छ । फेवातालआसपासका क्षेत्रको बसाइ लम्बाउन तालवाराहीको मुख्य भूमिका भएको पर्यटक क्षेत्रका जानकार बताउँछन् । कास्कीमा तालवाराहीबाहेक प्रमुख धार्मिक स्थलमा विन्ध्यवासिनी, गुप्तेश्वर महादेव (गुफा), भद्रकाली, कास्कीकोट मन्दिर, पाचासे राममन्दिर, बौद्ध गुम्बा, शान्ति स्तूप आदि रहेका छन् ।

मनकामना मन्दिर

गोरखाको सहिद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर तीर्थस्थलका रूपमा ख्याति कमाएको छ । मन्दिरभित्रको गर्भगृहमा गणेश, भैरव, मनकामना, कुमारी, अष्टमातृका, चामुण्डाको शिला रहेको छ । मन्दिरमा दर्शनका लागि पैदलमार्ग, सवारीसाधन वा केबुलकारको प्रयोग गर्न सकिन्छ । पृथ्वी राजमार्गको चेरेसबाट केबुलकार चढी १५ मिनेटमा मनकामना मन्दिर पुग्न सकिन्छ । २०५५ सालमा केबुलकारको सुरुवात भएको थियो । मनकामना मन्दिरमा जाने केबुलकार नेपालकै पहिलो मानिन्छ ।

विसं १६९० मा तत्कालीन राजा राम शाहको रानी पुण्यवतीदेवी नै मनकामना माताका रूपमा प्रकट भएको भन्ने मान्यता छ । रानी भगवतीको साक्षात् रूपमा देखेका राजाको तत्कालै मृत्यु भएपछि राजाको साथ सती गएकी रानी पुण्यवतीले आफ्ना विश्वासिला दरबारिया कर्मचारी लखन थापालाई ‘म फेरि तिम्रै गाउँमा प्रकट हुने छु’ भनेको र सात महिनापछि हलो जोत्दा सियो अड्केर ढुङ्गाबाट रगत र दुध बग्न थालेपछि त्यही ढुङ्गालाई नै देवीका रूपमा पूजा गर्न थालिएको भन्ने किंवदन्ती छ । मन्दिर भने राम शाहका चौथो पुस्ताका राजा पृथ्वीपति शाहले बनाएको इतिहासमा उल्लेख छ । विसं १८२० मा पृथ्वीनारायण शाहले यस मन्दिरमा गुठी स्थापना गरेको र विसं १८२५ मा पृथ्वीनारायण शाहले घन्ट चढाएको किंवदन्ती छ । विसं २०७२ सालको भूकम्पले क्षति पुगेको यस मन्दिरको पुनर्निर्माण भएपछि धार्मिक पर्यटकको चाप बढेको छ । आफ्नो मनले चिताएको कामना अर्थात् मनको इच्छा पूरा गर्ने भगवती वा देवीका रूपमा मनकामनालाई पुजिन्छ ।

तिलिचो ताल

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित विश्वकै अग्लो स्थान (४,९१९ मि.) मा रहेको तिलिचो ताल तिलिचो पिक र नीलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । समुद्री सतहदेखि चार हजार ९१९ मिटरमा रहेको सुन्दर, मनमोहक तिलिचो ४.८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । तालबाट अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि पर्यटकको घुइँचो लाग्ने गरेको छ । वर्षमा ४० देखि ५० हजार विदेशी पर्यटक र दोब्बर स्वदेशी पर्यटक तिलिचो ताल पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङले जनाएको छ । शिवले तपस्या गरेको र कागवेसिनी ऋषिले ज्ञान प्राप्त गरेको हुनाले यसको धार्मिक महत्व छ । 

यो ताललाई पौराणिककालमा ‘काग भुसुन्डी’ नामले समेत चिनिने गरिएको पाइन्छ । स्थानीयवासीले दुःखकष्ट, रोगव्यथा नष्ट हुने र घरपरिवारमा सुखशान्ति आउँछ भन्ने विश्वासले समेत तालमा पूजा गर्ने गर्दछन् । यो ताललाई शिवको शक्ति आर्जन भएको जलका रूपमा समेत स्थानीयले पर्यटकलाई चिनाउँछन् । तालमा अवलोकन गर्न जाने मुस्ताङ र लमजुङको बेँसीसहर हुँदै माथिल्लो मनाङबाट जाने गर्दछन् । मुस्ताङ र मनाङमा सडक सञ्जालको विस्तारले अहिले पर्यटकलाई राहत मिलेको छ । 

मौलाकालिका

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा पर्ने प्रसिद्ध तीर्थस्थल एवं शक्तिपीठ मौलाकालिका भगवतीको मन्दिर समुद्री सतहबाट ५६१ मिटर पहाडी वन उचाइमा रहेको छ । १६ औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महìव भएको हो । मन्दिरमा नयाँ वर्षसँगै विजयादशमी, माघेसङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका पर्वमा भक्तजनको अत्यधिक भिड लाग्ने गरेको छ । मन्दिरमा माताको दर्शनका लागि नवलपुर तथा चितवनका साथै देशका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गरेका छन् । 

“१६ औँ शताब्दीमा राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए । हिन्दु पौराणिक कथा अनुसार देवी, काली वा कालिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुवातको प्रतीक मानिन्छ । शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजाअर्चना, आराधना एवं उपासना गर्नाले मनले चिताएको मनोकाङ्‌क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहेको पाइन्छ । मानिसलाई दुःख, आपत्विपत् र सङ्‌कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःखकष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । मौलाकालिका मन्दिर प्रवेशद्वारनजिक श्री सिद्धिविनायक गणेश मन्दिर, श्री राधाकृष्ण मन्दिर छ ।