• २७ वैशाख २०८२, शनिबार

‘स्पार्क एडेभेञ्चर’: राजेश हमालदेखि विजय लामासम्म सहभागी

blog

‘स्पार्क एडेभेञ्चर’का सहभागी कलाकार, उद्यमी, समाजसेवीलगायत । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, बैशाख २७ गते । ओखलढुङ्गा र सोलुखुम्बुको पर्यटकीय स्थलहरुको प्रबर्धन गर्न ‘स्पार्क एडेभेञ्चर’ सञ्चालन गरिएको छ । पर्यटन प्रबर्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा ‘तेस्रो स्पार्क एड्भेञ्चर’ गरिएको हो । 

काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत दुई जनाभन्दा बढी सहभागीहरु शुक्रबार राती सोखुलुम्बुको पत्ताले गौंरी टापमा बास बसेका थिए । शनिबार ओखलढुङ्गाको रुम्जाटारमा पर्यटन सम्बाद साथै राजु लामा, आस्था राउत, राजेश हमाल, विजय लामालगायतका कलाकार साथै उद्यमी, समाजसेवीको सहभागितामा साँस्कृतिक कार्यक्रम गरिएको छ ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाल लगायतका कलाकारहरु साथै उद्यमी, पत्रकार, समाजसेवी सहभागी हुनुभएको छ । 

दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको स्पार्क कारका निर्देशक सीताराम घिमिरेले बताउनुभयो । सहभागीहरूले विद्युतीय सवारीसाधन मार्फत शुक्रबार ओखलढुङ्गा हुदै सोलुखुम्बुको गौंरीटाप पुगेर सगरमाथालगायतका विभिन्न हिमालको अवलोकन गर्नुभएको घिमिरेले बताउनुभयो । 

समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौंरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावना भएको गन्तव्य हो । काठमाडौँदेखि २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा पर्छ । 

यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छन् । 

स्पार्क एड्भेञ्चरको सहभागीलाई रुम्जाटारमा स्थानीयले साँस्कृतिक झाँकीसहित स्वागत गरिएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भिरमौरीको मह सिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो । 

साहसिक पर्यटनका क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।