टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २८ गते । स्वदेशमा केही नदेखेर काम खोज्न दैनिक सयौँ युवा विदेश पसिरहेका छन् । गाउँका उर्वर खेतबारी झाडी बनाउँदै युरोप र खाडीकाका सपना देख्ने प्रवृत्ति बढ्दै गएका बेला छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गका ४० वर्षीय विष्णु भण्डारीलाई कहिल्यै परदेश मोह जागेन । बिहान सबेरै उठेदेखि रात नपरेसम्म कृषि कर्ममै दिन बित्छ । तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ गरेर गन्तव्यमा पुर्याउने भण्डारीको दैनिकी हो । भण्डारी दम्पती, बाबुआमा र भाइ पनि सधैँ काममै व्यस्त हुनुहुन्छ ।
उहाँका तीन भाईनै गाउँमा कृषि गर्नुहुन्छ । सुरुमा कुखुरा पालनसँगै मासु व्यवसाय गर्नुभएका भण्डारी अहिले काँक्रा उत्पादकको रूपमा परिचित हुनुहुन्छ । उहाँले कृषिमा १० वर्ष बिताउनुभयो । कृषि पढ्नु भएन, परेरै सबै काम आफै गर्नुभएको छ । आफ्नै सिँचाइ र जग्गा भएकाले काममा सहज छ । बेमौसमी काँक्रा उत्पादन भएकाले मूल्य पनि राम्रो छ । उहाँले गत वर्ष १० लाख रुपियाँका काँक्रा बिक्री गर्नुभएको थियो । अहिले गत वर्षभन्दा तीन गुणा बढी काँक्रा रोपेकाले कम्तीमा ३० लाख रुपियाँ कमाई हुने दाबी भण्डारीको छ । गत वर्ष दुई हजार रोप्नु भएका भण्डारीकोमा अहिले दश हजार काँक्राका बोटहरू रहेका छन् ।
धेरैले टनेलमा काँक्रा उत्पादन गरे पनि भण्डारीले खुल्ला जमिनमै काँक्राको राम्रो उत्पादन गर्नुभएको छ । “बोट नै दश हजार छन् । राम्रो उत्पादन र मूल्य भएकाले ३० लाख ढुक्कले कमाउँछु,”उहाँले भन्नुभयो,“कृषिमै रमाउन थालेका दशक भए ।” काँक्रा प्रति किलो सय रुपियाँमा फर्मबाटै बिक्री भइरहेको छ । पाँच÷छ जातमा काँक्राको उत्पादन फर्ममा भइरहेको छ । काँक्रा बाहेक भण्डारीकोमा लौका, घिरौँला, खर्बुजा, फर्सी लगायतका तरकारी पनि छन् । फल्न थालेकाले तीन लाखको लौका पनि बिक्री हुने भण्डारीले बताउनुभयो ।
पूर्णिमा कृषि फर्म मार्फत करिब ५० लाख रुपियाँ कृषि र कुखुरा पालनमा लगानी भण्डारीले गर्नुभएको छ । त्यो मात्रै नभएर दुई वटा पोखरीमा माछा छन् । तीन÷चार क्विन्टल माछा निकाल्ने अवस्थामा रहेको भण्डारीले बताउनुभयो । उहाँले सुरुमा कुखुरा पालनसहित मासुको व्यवसाय गर्नुभएको थियो । अहिले कुखुरा घटाएर तरकारी बढाउँदै लैजानु भएको भण्डारीकोमा अझै एक हजार बोइलर कुखुरा छन् ।
धेरै किसान उत्पादनले बजार र मूल्य नपाएर विस्थापित भएका छन् । तर, भण्डारीको काँक्राले राम्रो बजार र मूल्य पाएको छ । “उत्पादन बेमौसममा गरे बजार र मूल्य पर्छ । मेरो उत्पादन धेरै फर्मबाटै बिक्ने गर्छ,”उहाँले भन्नुभयो,“सिजनकै बेला सबैले एउटै गरेर डुबेँ भन्ने गरेका छन् ।” कृषि कर्मबाट भण्डारी र परिवार मात्रै सन्तुष्ट छैन । उहाँको फर्ममा दैनिक चार जनालाई रोजगारी मिलेको छ ।