• १२ साउन २०८१, शनिबार

पाकिस्तानमा चुनावी हिंसा : निर्वाचन आयोगद्वारा सुरक्षा बैठक आह्वान

blog

पेशावर (पाकिस्तान), माघ  १७ गते । मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ । 

दक्षिण एसियाली यस मुलुकमा निर्वाचनहरू प्राय: हिंसाबाट प्रभावित हुन्छन् । निर्वाचनमा उम्मेदवारहरू र चुनावी सभामा आतङ्कवादी समूहका साथै व्यक्तिगत प्रतिशोधका कारण निशाना बनाइन्छ । 

पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीबाट टिकट पाउन असफल भएपछि स्वतन्त्ररूपमा उम्मेदवार रहेका रेहान जेब खानको खैबर पख्तुनख्वा प्रान्तको पूर्वआदिवासी जिल्ला बाजौरमा स्टम्प भेलाबाट बाहिर निस्केपछि उहाँको कारमा गोली हानी हत्या गरिएको थियो । 

“रेहान जेबको हत्या निर्वाचनको समयमा अराजकता उत्पन्न गर्ने उद्देश्यले गरिएको हत्या हो”, जिल्ला प्रहरी अधिकारी काशिफ जुल्फिकारले भन्नुभयो । 

हिंसामाथि छलफल गर्नका लागि बिहीबार सरकार र गुप्तचर अधिकारीहरूसँग बैठक बस्ने पाकिस्तानको निर्वाचन आयोगले मिडियालाई बताएको छ । “बलुचिस्तान र खैबर पख्तुनख्वामा बिग्रिएको कानून र व्यवस्थाको अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगले फेब्रुअरी १ मा बैठक बोलाएको छ”, आयोगले भनेको छ । 

फेब्रुअरी ८ को मतदानअघि हजारौं अर्धसैनिक बलहरू तैनाथ गरिने अधिकारीहरूले पहिला घोषणा गरेका थिए । 

बुधबार पनि बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा एक राष्ट्रियसभा र अर्का प्रान्तीय सिटका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारमाथि ग्रेनेडले हमला गरिएको थियो। “आतङ्कवादीहरूले हमला गर्दा उहाँहरू दुवै कार्यालयमा हुनुहुन्थ्यो”, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का प्रवक्ताले भन्नुभयो । उहाँले पाँच जना घाइते भएको जानकारी दिनुभयो । 

इरानको सीमाबाट बुलेदा नजिक पिपिपीका उम्मेदवारलाई पनि उहाँको घरमा ग्रेनेडले निशाना बनाइएको थियो तर हमलामा कसैलाई कुनै नोक्सानी भएको थिएन ।

क्वेटामा पिटिआईको र्याली नजिकै भएको बम विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार बताएको थियो । उक्त हमला पार्टीका संस्थापक इमरान खानलाई गोपनीय सरकारी दस्तावेज चुहाएको आरोपमा १० वर्षको कारागार सजाय सुनाइएको केही घन्टापछि भएको थियो । 

पछि उहाँलाई भ्रष्टाचारको आरोपमा १४ वर्षको अर्को सजाय सुनाइएको छ । सन् २०२२ मा प्रधानमन्त्रीबाट हटाइनुभएका ७१ वर्षीय पूर्वक्रिकेट स्टार खानले पाकिस्तानको सैन्य किङमेकरहरूविरुद्ध अवज्ञा अभियान चलाउनुभएको थियो । उहाँले सेनामाथि आफ्नो प्रधानमन्त्री पद समाप्त गर्न षड्यन्त्र रचेको आरोप लगाउनुभएको थियो । रासस–एएफपी