काठमाडौँ, कात्तिक १३ गते । ‘मोन्था’ चक्रवातले बिहीबार बिहानदेखि देशका अधिकांश भागमा वर्षा हुँदा तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो शहरमा पानी पर्ने देखिएको जनाएको । जसका कारण काठमाडौँ उपत्यकासहित धनगढीको तापक्रम घटेको छ ।
महाशाखाले जारी गरेको विवरणमा आज सबैभन्दा बढी तापक्रम धनगढीमा (३१ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम राति जोमसोममा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ ।
यसैगरी, आज डडेलधुरामा तापक्रम २२, दिपायलमा २९, वीरेन्द्रनगरमा २५, नेपालगञ्जमा ३०, जुम्लामा २०, पोखरामा २४ र भैरहवामा २९ डिग्रीसम्म पुग्ने उल्लेख छ ।
त्यस्तै, सिमरामा २८, काठमाडौँमा २१, ओखलढुङ्गामा १९, धनकुटामा २२, विराटनगरमा २८, धरानमा २७, जनकपुरमा २८, जिरीमा १९ र ताप्लेजुङमा २१ डिग्री तापक्रम रहने महाशाखाले जनाएको छ ।
यसैगरी, ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
