• १३ कात्तिक २०८२, बिहिबार

पौडी खेल्ले क्रममा कालीगण्डकीमा बेपत्ता भएकाको खोजी जारी

blog

कालीगण्डकी नदी । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), कात्तिक १३ गते ।
पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका किशोर फेला परेका छैनन् । स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दीमा बुधबार पौडी खेल्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको थियो ।

कैलालीबाट भ्रमण आएका शाही कालीगण्डकीमा बेपत्ता हुनुभएको हो । उहाँका साथी १६ वर्षीय बिराज न्यौपानेको भने जीवितै उद्धार गरिएको थियो । स्थानीय र प्रहरीको टोलीले न्यौपानेलाइ उद्धार गरेको स्थानीय शिवहरी अमात्यले जानकारी दिनुभयो ।

देउसी भैलो खेलेर भ्रमण आएको टोलीसँगै आएका दुवै जना पौडीखेल्न कालीगण्डकी नदीमा गएका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरू ना. ६ ख. २५३१ नम्बरको बसमा साथीहरूसँगै घुम्न आएका हुन् । घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी तथा स्थानीयले बुधबार तथा बिहीबार बिहानैबाट कालीगण्डकीमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।