अविनाश चौधरी
धनगढी, कात्तिक १३ गते । कैलाली कारागारबाट फरार भएका १९ भारतीयसहित २६२ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ ।
हालसम्म चार सयभन्दा बढि कैदीबन्दी कारागार फर्केको जेलर चिरीञ्जिवी सापकोटाले जानकारी दिनुभयो । कारागार फर्केका मध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६५ जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये धेरैजसो आफैै फर्केका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । कारागारमा ६६७ जना कैदीबन्दी रहेकोमा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेका जनाइएको छ ।
कारागार प्रशासनका अनुसार पक्राउ पर्न नसकेका १९ भारतीयमध्ये जासिर खान ज्यान मार्ने उद्योग र डाँका, चोरी अपराधमा जेल परेका थिए । यस्तै, हातहतियार र खरखजाना मुद्दामा जेल परेका लखिमपुर खिरीकै विपिन कुुमार, देशराज राना र सौरभ सिंह पनि कारागार नफर्केका जनाइएको छ ।
मानव ओसारपसार तथा शरीर बन्धक मुद्दामा जेल परेका उत्तर प्रदेशको हिना खान पनि फरार रहेको कारागार प्रशासनले जनाएको छ । यसैगरी, वन्यजन्तु सम्बन्धी मुद्दामा जेल परेका पन्जाबको श्रवणकुमार बाबरिया पनि कारागार नफर्केको जेल सापकोटाले जानकारी दिनुभयो । कारागारबाट फरार रहेका अन्य भारतीयमा १२ जना लागुऔषध र एक जना चोरी मुद्दामा जेल परेका थिए ।
अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गरेर कारागार फर्काइने कारागार प्रशासनले जानकारी दिएको छ ।