• ७ जेठ २०८१, सोमबार

आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा

blog

लेखनाथ, माघ १७ गते । जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पाँच पटकको उपाधि विजेता थ्री स्टारले यसपालिको उपाधिका लागि त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबिचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलका ७८औँ मिनेटमा दीपेश घलेले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा मैदान छिर्नुभएको घलेले दीपेश आलेको पासमा गोल गर्नुभएको हो । दशकपछि आहा रारामा आएको जावलाखेल २०६९ मा पनि सेमिफाइनलमा थ्रीस्टारसँगै पराजित भएको थियो ।

खेलको ८ औँ मिनेटमा आशीष चापागाईँले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार विपक्षी खेलाडीले उत्कृष्ट बचाउ गरे । लगत्तै मौसम सुब्बाको पासमा दिपेश आले मगरले हानेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । खेलको ३१ औँ मिनेटमा पेनाल्टी बक्स क्रसलाई रिसिभ गरी बल प्रहार गरे पनि चौलागाईंको प्रहार पोस्टमाथि बाट बाहिरियो । खेलको ३४ र ७३ मिनेट पाएका अवसरलाई पनि थ्रिस्टारले उपयोग गर्न सकेन । 

जावलाखेलका सुनिल खड्काले खेलको २९औँ मिनेटमा गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरियो । कप्तान विशाल तामाङको पासमा खड्काले ३८ मिनेटमा गरेको प्रहार पनि लक्ष्यमा चुक्यो । सुदीप गुरुङले ४९औँ मिनेटमा गरेको फिर्की प्रहार सिधै विपक्षी गोलरक्षकको हातमा पुग्यो । 

खेलको उत्तराद्धमा जावलाखेलले अर्को अवसर गुमायो । विपक्षी गोलरक्षकसँग ठोक्किँदै आएको रिबाउन्ड बल प्रदीप बुढाथोकीले पोस्टमा प्रहार गरे पनि गोल हुन सकेन । थ्री स्टार क्वाटर फाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई हराउँदै सेमिफाइनल आइपुगेको हो ।

जावलाखेलले भने छ पटकको आहा रारा विजेता मनाङ मर्स्याङ्दीलाई सडन डेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । थ्री स्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा रारा उपाधि जितेको थियो । 

प्रतियोगितामा आयोजकसहित १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख एक हजार र उपविजेता टोलीले ६ लाख एक हजार रुपियाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको फाइनल माघ २० गते शनिबार हुनेछ ।