काठमाडौँ, असार ९ गते । बङ्गलादेशमा यही जुलाई ११ देखि २२ तारिखसम्म आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।
पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले जुलाई १३ मा घरेलु टोली बङ्गलादेश तथा जुलाई १५ र १७ मा श्रीलङ्काको सामना गर्नेछ ।
यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ तारिख बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सहभागL चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली
लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, विर्साना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।