• २७ पुस २०८१, शनिबार

न्यानोमा गाउँ, जाडोमा पोखरा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १७ गते । अहिले उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियसभन्दा कम छ । यस्तो ठिहीमा अभिभावकसँगै बेँसी झरेका बालबालिका घुम्ती विद्यालयमा छन् । कात्तिकमा बेँसी झरेका घुम्ती विद्यालय वैशाखमा मात्रै फर्कन्छन् । 

तिब्बतसँग सीमा जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै विद्यालय अहिले बेँसीमा सारिएका हुन् । लोघेकर–२ को घमी आधारभूत विद्यालयले भने दुई महिना बिदा गरेको छ । तल्लो मुस्ताङका घरपझोङ, थासाङ र बारगुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै विद्यालयले पुस र माघ बिदा दिने गरेका छन् । 

बारगुङ अध्यक्ष रिङजिन नाम्गेल गुरुङ छुसाङको जननर्मल माविले घुम्ती कक्षा चलाएको र बाँकीले बिदा दिएको बताउनुहुन्छ । बारगुङमा निजी स्कुल छैनन् भने दुई गुम्बा विद्यालयले आफैँ व्यवस्थापन गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “स्कुलमा विद्यार्थी साह्रै कम छन् । छ वटा गाउँमा इसिडी कक्षा चलाएका छौँ ।” बारगुङका १४ इसिडी सहजकर्ता अहिले पोखरामा तालिम लिइरहेका छन् । 

लोमान्थाङका दिव्यदीप मावि, छोन्हुप झिन्जु आधारभूत र राष्ट्रिय आधारभूत अहिले बेँसीमा छन् । छोन्हुपका प्रधानाध्यापक वाङ्दी गुरुङ जाडोमा विद्यार्थीलाई बेँसीमै आवासीय रूपमा पढाउने गरिएको बताउनुहुन्छ । छोन्हुपको पोखरा–२५, सुइँखेतमा आफ्नै दुईतले भवन छ । २३ विद्यार्थीसहित शिक्षक र कर्मचारी यहीँ बस्ने र पठनपाठन गर्ने गर्छन् । लोमान्थाङमा दुई निजी र चार गुम्बा विद्यालय पनि छन् । पालिका अध्यक्ष टसी न्हर्बु गुरुङ निजी र गुम्बा स्कुलले सरकारी स्कुललाई पालिकाले घुम्ती कक्षा चलाउन सहयोग गरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पालिकामा जनसङ्ख्या घट्दो छ । स्कुल गाभेर आवासीय चलाउन सके राम्रो हुने अवस्था छ ।” दिव्यदीप विद्यालयको पोखरामा भवन बनिरहेको छ । राष्ट्रियले बेगनास तालनजिकै घुम्ती कक्षा चलाइरहेको छ । 

लोघेकरमा आठ सरकारी आधारभूत र एउटा गुम्बा विद्यालय छन् । पालिकैभरि मावि छैन । अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विद्यार्थी बाल कक्षादेखि १, २ कक्षासम्म गाउँमा पढ्ने र त्यसपछि अन्यत्र जाने गरेको उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिँड्न सक्ने भएपछि बच्चालाई आवासीय स्कुलमा लैजान्छन् । भौगोलिक हिसाबले ठुलो पालिका छ, कतै विद्यार्थी कम छन्, कतै शिक्षक अपुग ।” वडा नं. ३ घिलिङको जनज्योति आधारभूतले भने तनहुँको ढोरफिर्दीमा कक्षा सञ्चालन गरेको छ । 

लोघेकरका छ सामुदायिक विद्यालयले पोखरा–२५, हेम्जामा खाली स्कुलको भवन भाडामा लिएर घुम्ती कक्षा चलाएका छन् । चराङ आवि, मराङ आवि, ढाक्मर आवि, शालिग्राम आवि, यारा आवि र घमी आविले अस्थायी ‘मर्ज’ गरी एकै ठाउँमा घुम्ती कक्षा चलाएका हुन् ।