• १३ असोज २०८१, आइतबार

ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, माघ १५ गते । हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ । शौचालयमा शौच गर्न जानुभएका २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाउनु भएको थिए । बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा काफ्लेको उद्धर गरिएको थियो । उहाँलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए । यता हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसीले बाथरुममा अक्सिजनको कमी भएर काफ्लेको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएको जानकारी दिनुभयो । 

सुमोमाथि ढुंगा खस्दा 

त्यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्ड हुँदै काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमाथि ढुंगा खस्दा एकजना महिला गम्भीर घाइते हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सोमबार दिउँसो गुडिरहेको टाटा सुमोमाथि ढुंगा खस्दा सर्लाही बरहथवा नगरपालिका–२ बस्ने ३६ वर्षीय सिता पौडेल घाइते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुमोमाथि ढुंगा खस्दा सुमोको झ्यालको सिसा फुटेर पौडेलको टाउकोमा चोट लागेको थियो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि सोही सुमोमा राखेर हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । सुमोमा चालकसहित १० जना सवार रहेका थिए ।