चितवन समाचारदाता
चितवन, असार २६ गते । नारायणगढ बजारनजिकै रहेको नदी किनारको खुला स्थानको कटान रोक्न ठुला ढुङ्गाको छेकबार (ब्रेकर) लगाइएको छ । गत वर्ष आएको बाढीले नदी किनारको खुला स्थान कटान गरेर एक मिटर गहिरो खाडल बनाएको थियो । यस वर्ष बाढी आउँदा नदी चौरमाथि प्रवेश गरेर नारायणगढ बजार कटानको जोखिम बढ्ने भएपछि ठुला ढुङ्गाको छेकबार लगाइएको हो ।
सरोकारवालाले प्रदेश सरकारसँग गरेको लामो पहलपछि पछिल्लो समय बजेट विनियोजन भएर प्राकृतिक रूपमा कटान रोक्न ठुला ढुङ्गा बिछ्याइएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रकाश तिमल्सिनाले नदी किनारको चौैरको भागको कटान रोक्न ठुला ढुङ्गा राखिएको जानकारी दिनुभयो । बागमती प्रदेश अन्तर्गतको जलस्रोत मन्त्रालयमार्फत बजेट माग गरेर काम भएको उहाँले बताउनुभयो । २५ लाख रुपियाँ आएकोमा २४ लाख रुपियाँको लागतमा तत्काल ठुला ढुङ्गा राखिएको हो ।
“नदीको बहाबबाट कटान रोक्नका लागि ठाडो रूपमा ठुला ढुङ्गा बिछ्याइएको छ । यसले कटानलाई प्राकृतिक ज्ञपमै रोक्दछ,” उहाँले भन्नुभयो, “अहिले राखिएका ढुङ्गाले के कति मात्रामा बाढीलाई रोक्ने काम गर्छ, त्यसको अध्ययन गरेर बर्सातपछि थप ढुङ्गा बिछ्याउने तयारी रहेको छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नारायणी नदी किनार संरक्षणका लागि प्रदेश सरकारसँग पहल गरेर थोरै भए पनि ढुङ्गा ल्याएर राखेको बताउनुभयो । “यसले केही हदसम्म कटान रोक्ने विश्वासमा छौँ,” उहाँले भन्नुभयो, “नदी किनारमा यसअगाडि सिमेन्ट ढलान तथा मोजाइक टायल बिछ्याएर आकर्षक बनाइएको थियो । गत वर्ष असोजमा आएको बाढीले ती सबै संरचना बगाएर बगर बनाइदिएको थियो ।”
नदी किनारको चौर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव तथा अन्य कार्य गर्न प्रयोग गर्दै आएको छ । यसको संरक्षणमा सङ्घले विशेष चासो दिँदै आएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा नदीविज्ञ प्रकाश लम्सालले कटानको जोखिम रोक्न प्राकृतिक रूपमा ठुला ढुङ्गा बिछ्याउनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला ढुङ्गा अहिले बिछ्याएको रहेछ, त्यसले राम्रो काम गर्न सक्छ । यस्तो स्थानमा कङ्व्रिmटको रोकावटभन्दा प्राकृतिक रूपमा छेकबार गर्ने उपाय अपनाउनु पर्छ । अहिले जे गरिएको छ, त्यो उपयुक्त छ ।”
“नदी किनार मानिसको मात्र बासस्थान होइन । यो जलचर तथा अन्य प्रजातिको समेत चलखेलको स्थान हो । प्राकृतिक रूपमा ठुला ढुङ्गा बिछ्याउँदा चौरको संरक्षण हुने मात्र होइन, माटो कटान पनि रोकिन्छ,” उहाँले भन्नुभयो । पहाडमा हाम्रा पुर्खाले ठुला ढुङ्गाको आड लगाएर खेत जोगाउनुहुन्थ्यो । पहाडको ठाडो खोलाको कटानसमेत ठुला ढुङ्गाले रोक्थे, अहिले पनि त्यस्ता ठाउँ पहाडमा धेरै छन्, इन्जिनियर लम्सालले बताउनुभयो ।
“नारायणीको कटान दीर्घकालीन रूपमा रोक्ने उपयुक्त उपाय नै ढुङ्गाको ब्रेकर हो,” उहाँले भन्नुभयो, “हामीले यस विषयमा निरन्तर सुझाव दिएका थियौँ । दुई वर्षअगाडि नारायणी नदी किनारमा ‘सी–बिच’ को अवधारणा अनुसार ढलान गरेर कटान रोकिएको थियो तर त्यो संरचनाभन्दा पर पुगेर नदीले चौरमा खाल्टो बनाएपछि अत्यास बढेको थियो ।”