• ७ मंसिर २०८१, शुक्रबार

मैले पढेको पुस्तक

blog

हिरा थापा 

कक्षाः ९, नेपाल राष्ट्रिय मावि 

बासगढी, बर्दिया

महको म, खुसी, मनसुन, चिना हराएको मान्छे, प्रिय सुफी, फूलको आँखामा फूलै संसार, हामी हाँसे संसार हाँस्छ, समयमाथिको जित, साया, कथाकी पात्र, आँखा र आँखाहरू, भैरव अर्यालका हास्यव्यङ्ग्य, जीवन काँडा कि फूल, जीवन मूल्य, समर लभ, मेरो अधुरो प्रेम जस्ता उपन्यास, जीवनी र  कथासङ्ग्रहलगायतका पुस्तक पढेपछि म बुह्रान उपन्याससम्म आइपुगेकी छु । भर्खरै मात्रै यो उपन्यास पढेर सकेँ । 

विद्यालयको पुस्तकालयमा ‘हामी हाँसे संसार हाँस्छ’ भन्ने पुस्तक पढ्ने क्रममा विद्यालयको पुस्तकालयमा बुह्रान उपन्यास बारम्बार आँखाअघि देखिरहेकी थिएँ । पछि बर्दिया आएपछि म नेपाल राष्ट्रिय मावि लक्ष्मणुर बाँसगढीमा कक्षा ९ मा भर्ना भएँ । केही महिनापछि थाहा पाएँ कि बुह्रानका लेखक त हाम्रै गुरु महानन्द ढकाल हुनुहुँदो रहेछ । विद्यालयको लाइब्रेरीमा उपन्यास खोजेँ । पुस्तकालयमा रहेछ । लिएर घर गएँ । पढेपछि थाहा भयो पुस्तकमा थारू जातिका बारेमा धेरै कुरा लेखिएको रहेछ । 

करिब दुई महिना पहिले मेरो किताबप्रतिको रुचि सरलाई थाहा भयो र भन्नुभयो, “तिमी कुनै पुस्तक पढ्न चाहन्छौ भने मलाई भन्नु म उपलब्ध गराइदिन्छु ।” 

आफ्नो रुचिलाई कसैले बढावा दिएर सहयोग गर्छभन्दा नाई भन्ने त कुरा नै आउँदैन । मलाई पढ्न मन भएका किताबको नाम दिएकी छु ऐँठन र इजोरिया पढ्न मन छ । पुस्तकालयमा रहेन छ । 

बुह्रान पुस्तक पढ्ने क्रममा बिच बिचमा केही शब्द थारू भाषामा उल्था गरिएको पाएँ । केही शब्द बुझिन नबुझेका शब्दको अर्थ  कक्षामा त्यस्तै थारू साथीसँग सोधी अर्थ बुझेँ ।

माइला बुह्रान क्षेत्रमा ठुलो सपनादेखि भित्रिएका एक पात्र हुन्, साथै पार्वती पनि श्रीमान्को मृत्युपछि छोराछोरीको जिम्मेवारी र उनीहरूको राम्रो भविष्य कल्पना गरी मधेश झरेकी थिइन् । त्यही क्रममा नै माइलको लगनशीलता, इमानदारिता, मेहनती स्वभावले पार्वतीको  परिवार  र माइलाको  परिवारबिच घनिष्ट सम्बन्ध हुँदै गइरहेको थियो ।  

माइला थारू थिए भने पार्वती पहाडिया थिइन् । एउटा थारू र पहाडियाबिचको सम्बन्ध एकदमै घनिष्ट थियो । दुःखसुखमा  एकअर्काका सहारा बन्थे । हौसला दिन्थे । थारू  र पहाडिया भएकोमा कुनै मतभेद थिएन । भेदभाव थिएन ।

तर अरू पहाडियाले सोझासाझा थारूलाई विभेद गरिरहेका थिए । बिचरा थारूहरू भने गाँस, बास, कपासको अभावमा जमिनदारका घरमा कमैया बस्थे । र आफ्ना पूर्वजले जस्तै कमैयामा जीवन बिताउन नपरोस् भन्ने धारणा हरेक थारूमा हुने गथ्र्यो । त्यसैले आगामी पुस्ताले गरे जस्तै सङ्घर्ष र मालिकको अत्याचार, दमन सहन नपरोस् भन्दथे । र थारूहरूले राम्रो जीवनयापनका लागि विभिन्न आन्दोलन पनि गरे तर सफल  हुन भने सकेनन् ।

थारूहरू जाँगरिला र मेहनती थिए । अरूले देखाएका प्रलोभनमा फस्दैनथे । मइाला जस्ता थारूहरूमा मेहनत गर्ने जाँगर र सिप हुँदाहुँदै पनि उनीहरू साक्षर थिएनन् । जसका कारण उनीहरू हेपिए । उनीहरूले अन्यायका विरुद्ध आवाज उठाए पनि न्याय पाउन भने सकेनन् । 

सरकारले पनि गरिब थारूहरूलाई साथ दिन सकेन । आन्दोलनमा परी कैयौँ थारू घाइते बने तर पनि न्याय पाउन सकेनन् । यो उपन्यास यहाँका थारूहरूको समाजले भोग्नु परेको वास्तविक कथामा आधारित छ । साँच्चै नै थारूमाथि कति धेरै दमन, अत्याचार गरिरहेका छन्  भन्ने कुरा पनि यस उपन्यासले बताएको छ ।

साँच्चै नै बुह्रान क्षेत्र हजारौँ थारूको सपनाको थलो रहेछ । इमानदारिता, लगनशील, नम्र स्वभाव उनीहरूको विशेषता रहेछ । कायर नभइकन निडरताका साथ जीवन जिउनु पर्छ भन्ने मान्यता राख्दा राख्दै पनि गाँस, बास र कपासको अभावमा पेलिएर उनीहरूले जीवनमा गर्न परेका कष्टपूर्ण सङ्घर्षले पनि उनीहरूले जीवनमा परिवर्तन ल्याउन सकिरहेका छैनन् ।

साँच्चै नै यो उपन्यास पढ्न लायक छ । वास्तविक कुरामा आधारित छ । यी र यस्तै पुस्तक हामी बालबालिकाले पढेर बुझ्न सकेमा एउटा नयाँ वातावरण सिर्जना गराउन सक्छाैँ र यी र यस्ता पुस्तकबाट सिकेका व्यावहारिक कुरा जीवनमा लागु गर्न सकेमा साँच्चै नै भविष्यका असल कर्णधार ठहरिन्छौँ । त्यसैले पनि फुर्सदको समय निकालेर विद्यालयमा पढ्ने पाठ्यपुस्तकबाहेक अरू पनि बाहिरी पुस्तक पढ्ने गर्नु पर्छ  ।