बालअधिकार भनेको बालबालिकाका लागि लागु हुने विशेष अधिकार हो । गर्भदेखि बालक हुन्जेलसम्म उपभोग गर्न पाउने सबै अधिकार बालअधिकारभित्र पर्दछ । बालअधिकारभित्र नाम र राष्ट्रियताको अधिकार, आमाबाबासँग बसोबास गर्ने अधिकार, पारिवारिक पुनर्मिलनको अधिकार, बालबालिकाको विचार व्यक्त गर्न पाउने अधिकार, शिक्षाको अधिकार आदि पर्दछ ।
नेपालको संविधानमा बालअधिकारको धारा ३९ मा सुनिश्चित गरिएको छ । बालबालिकालाई श्रममा लगाउनु गैरकानुनी अपराध हो । बालबालिकाको अङ्ग बेच्ने व्यक्तिलाई सरकारले कडा कारबाही गर्दछ । बालअधिकार अन्तर्गत खान पाउने, लुगा लगाउने, खुला हिँडडुल गर्न पाउने आदि अधिकार पनि पर्दछन् । बालअधिकारसम्बन्धी महासन्धिले बालबालिका भन्नाले १८ वर्षभन्दा कम उमेरका मानिसलाई सम्झनु पर्छ भनी परिभाषित गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०४८ ले १६ वर्ष नपुगेका व्यक्तिलाई बालबालिका भनेको छ । तसर्थ नेपालको सन्दर्भमा १६ वर्षभन्दा कम उमेरका व्यक्ति बालबालिका हुन् ।
बालबालिकाले स्वतन्त्र रूपले अधिकार उपयोग गर्न पाउनु पर्छ । नेपालको संविधानमा बालअधिकारसम्बन्धी भएको व्यवस्था–
- प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने छ,
- प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने छ,
- प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक हुने छ,
- कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन,
- कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन,
- कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक, धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारको दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन,
- प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुने छ,
- असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने छ ।
आमाबाबु दुवैसँग घुलमिल हुन पाउने अधिकार, मानव पहिचान र शारीरिक सुरक्षा, खाना, राज्यद्वारा प्रदान गरिने सर्वव्यापी शिक्षा, स्वास्थ्य सेवा, बालबालिकाको उमेर र विकास अनुकूल फौजदारी कानुन, बालबालिकाको जात, लिङ्ग, लैङ्गिक पहिचान, राष्ट्रिय उत्पत्ति, धर्म, अशक्तता, रङ, जातीयता वा अन्य विशेषताका आधारमा हुने भेदभावबाट मुक्त जस्ता अधिकार बालअधिकारभित्र पर्दछ । बालबालिकालाई स्वायत्त क्रियाकलाप गर्ने अधिकार दिनेदेखि बालबालिकालाई शारीरिक र मानसिक रूपमा दुव्र्यवहारबाट मुक्त गर्ने बालअधिकारका विषय हुन् । बालबालिकाको सामाजिक, शिक्षा, माया, बालमैत्री वातावरण, बालविकास, बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता नै बालअधिकार हो । सबै बालबालिकाको बाँच्न पाउने अधिकार हुन्छ । कुनै पनि कारणले बालबालिकाको मृत्यु हुनबाट रोक्नु हामी सबैको कर्तव्य हो । यस अन्तर्गत बालबालिका स्वस्थ र सुरक्षित जन्मका लागि गर्भवती आमाको सुरक्षा, स्याहार, जन्मेपछि रोगसँग लड्नका लागि खोप तथा आवश्यकता परेको समयमा उचित औषधी उपचार पाउने अधिकार पर्दछ । कुनै पनि भेदभावबिना नै बालबालिकाले आफ्नो शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा नैतिक विकास गर्ने अवसर पाउनु पर्दछ । यसका लागि सबै बालबालिकाले शिक्षा पाउने, आफूले जानेको र रुचि राख्ने खेलकुदमा क्षमता अनुसार सहभागी हुन पाउने, मनोरञ्जन गर्न पाउने, सिप सिक्न पाउनु पर्छ । यसैलाई बालबालिकाको विकास गर्न पाउने अधिकार भनिन्छ ।
बालबालिकाले आफ्नो टोल, छिमेक, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय तहमा पनि बालबालिकाका विषयमा हुने छलफल, कुराकानीमा सहभागी हुन पाउनुका साथै कानुन बनाउँदा आफ्नो विचार ठिक तरिकाले प्रस्तुत गर्न पाउने अधिकार बालअधिकारभित्र पर्दछ । बालबालिका कलिलो उमेरमा हुँदा उनीहरूले आफ्नो हित र अहितको विषयमा आफैँ निर्णय गर्न नसक्ने हुँदा निजहरूका हितका विषयमा निर्णय गर्नका लागि राज्य तथा अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले बालबालिकाको हक, हितको संरक्षण गरी तिनीहरूको शारीरिक एवं बौद्धिक विकास गर्नका लागि नै बालबालिकासम्बन्धी छुट्टै कानुनको आवश्यकता परेको हो ।
बालबालिकाको हक अधिकारविपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुन्छन् र पीडित बालबालिकाले कानुनबमोजिम क्षतिपूर्ति पाउँछन् । बालबालिकाको अभिभावकले उसको आर्थिक अवस्था अनुसार हेरविचार, पालनपोषण, माया दिने गर्नु पर्छ । अभिभावकले जन्माएको वा धर्मपुत्र वा पुत्रीबिच कुनै किसिमको भेदभाव गर्नु हुँदैन । बालबालिकालाई अनैतिक पेसामा लगाएको थाहा भएमा सबैले नजिकैको प्रहरी चौकीमा खबर गर्नु पर्छ । बालबालिकाको चरित्रमा आघात पर्ने किसिमको निजको व्यक्तिगत घटना विवरण वा फोटोको प्रकाशन, मुद्रण, प्रदर्शन वा वितरण गर्नु हुँदैन । बालबालिकामा मादक पदार्थ बिक्री र ओसारपसारमा संलग्न गराउनु हुँदैन । कसैले पनि १४ वर्ष उमेर नपुगेका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन मिल्दैन । नचिनेका व्यक्तिले दिएको खानेकुरा नखाने र कुनै प्रलोभन, डर, त्रास र दबाबमा परी निजको इच्छाविरुद्ध श्रमिकका रूपमा काम लगाए कानुनले कडा कारबाही गर्छ ।
तसर्थ बालबालिकाको हक अधिकारको संरक्षणका निम्ति गाउँ, समाज र सिङ्गो राष्ट्रले बालबालिकालाई राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार्न सक्नु पर्छ । आजका बालबालिकालाई उचित शिक्षा दिएमा असल र अब्बल जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने कुरा समाजका प्रत्येक व्यक्तिले मनन गर्नुपर्ने आजको आवश्यकता हो ।