• २७ पुस २०८१, शनिबार

जगदीशपुर चरा आरक्षमा पर्यटक तान्न फोटो कार्यशाला

blog

फोटो कार्यशालाको पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलबस्तु, माघ १४ गते । कपिलवस्तुको जगदीशपुर चरा आरक्षको प्रचारप्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशालाको आयोजना गरिएको छ । माघ १६ गतेदेखि देशभरका उत्कृष्ट फोटो पत्रकारलाई सहभागी गराई तालको पर्यापर्यटनको तस्बिरबाट उजागर गर्ने गरी तीन दिने फोटो कार्यशालाको आयोजना गरिएको हो । 

फोटो कार्यशालाले ताल र कपिलवस्तु जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले बताउनुभयो । गच्छामी मिडिया समूहले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरक्षको जैविक विविधता र सिमसार क्षेत्रको प्रचार गर्ने, ताल आसपासका बुद्धसँग जोडिएका पुरातात्त्विक स्थलको प्रवर्धन गर्ने, तालमा पाइने चरा, उभयचरको प्रचार गरी पर्यटनको विस्तार गर्ने उद्देश्य रहेको समूहका अध्यक्ष मनोज श्रीवात्सवले बताउनुभयो । 

फोटो कार्यशालाको अवसर चरा तथा प्रकृति र संस्कृति, सम्पदा तथा जीवनशैली गरी दुई विधामा फोटो प्रतियोगिताको समेत आयोजना गरिएको छ । २०७८ पुस मसान्तपछि आरक्ष आसपासमा खिचिएका फोटो मेल गरी प्रतियोगितामा भाग लिनसक्ने बताइएको छ । प्रत्येक विधामा उत्कृष्ट तस्बिरलाई पहिलो २५ हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार पुरस्कारको व्यवस्था गरिएको छ। 

फोटो कार्यशालामा वरिष्ठ वाइल्ड लाइफ फोटोग्राफर चुङ्वा सेर्पा, पन्छी विज्ञ कृष्ण भुसाल, फोटो पत्रकार मनोज पौडेल, बृजेश जयसवालले सहजीकरण गर्ने बताइएको छ । कार्यशालाले यहाँ रहेको जैविक विविधताको फोटो बैङ्कको रूपमा विकास हुने फोटो पत्रकार मनोज पौडेलले बताउनुभयो । 

देशभरबाट १० जना र स्थानीय १० जना गरी २० जना फोटो पत्रकार, फोटोग्राफर, वाइल्ड लाइफ फोटोग्राफर र तस्बिर खिच्न रुचि राख्नेले इमेल मार्फत सहभागिता जनाउन सक्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ।