• २३ वैशाख २०८१, आइतबार

जनशक्तिलाई अब्बल बनाउन प्रशिक्षण

blog

तालिम उदघाटनसत्रमा धारणा राख्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्विर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १४ गते । गोरखापत्र अनलाइन प्रकाशनमा कार्यरत पत्रकार तथा कर्मचारीका लागि ६ दिने मल्टिमिडिया तालिम सुरु भएको छ । संस्थानले अनलाइन प्रकाशनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई समयानुकूल प्रतिस्पर्धी तथा उहाँहरूको क्षमता अभिवृद्धि गर्न आइतबारदेखि तालिम सुरु गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अनलाइन पत्रकारिता बजारमा प्रतिस्पर्धा तीव्र रहेकाले आफू अब्बल हुन तालिमको आयोजना गरिएको बताउनुभयो । 

प्रविधिको बढ्दो सदुपयोगले मात्र प्रतिस्पर्धी बन्न सकिने चर्चा गर्नुहुँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “अनलाइन प्रकाशन संस्थानको एक अभिन्न अङ्ग हो, संस्थानको भविष्य अब अनलाइनसँग जोडिएको छ । त्यसैले यो वर्षको पहिलो तालिम अनलाइनमा सुरु गरेका हौँ ।”

यसअघिसम्म छापा माध्यमको महत्त्व उच्च रहे पनि अहिले अनलाइन प्रकाशनको युग भएकाले प्रतिस्पर्धा गरी अब्बल बन्नुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो । सीप सिक्नु जीवनमा सबैका लागि लाभकारी छ भन्नुहुँदै उहाँले ६ दिने तालिममा अनलाइनकर्मी सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उदघाटन सत्रमा मन्तव्य राख्नुहुँदै महाप्रबन्धक लालबहादुर ऐरी । 

यसैगरी संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अहिले डिजिटल पत्रकारिताको समय रहेकाले यसलाई प्रभावकारी बनाउन जनशक्ति दक्ष र अब्बल हुन जरुरी छ भन्नुभयो । अहिलेको युग सूचना प्रविधिमा निकै अगाडि बढिसकेकाले सूचना दिने काम मात्र पत्रकारिताको धर्म नरहेको उहाँले बताउनुभयो । अब पत्रकारले लेखेका समाचारको सकारात्मक प्रभाव पाठक, श्रोता र दर्शकमा देखिनु पर्ने र समस्याको समाधान गर्नेखालका समाचार सामग्री आवश्यक रहेको उहाँको भनाइ छ । 


अनलाइन प्रकाशनका नि. सम्पादक नारदमुनि गौतमले यस तालिमले अनलाइन प्रकाशनमा कार्यरत पत्रकार तथा कर्मचारीको क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

आज पहिलो दिनको तालिममा प्रशिक्षक राजकुमार श्रेष्ठले मल्टिमिडियाका विभिन्न आयामबारे प्रशिक्षण दिनुभयो । शुक्रबारसम्म चल्ने तालिममा नेपाली र अङ्ग्रेजी अनलाइनका २६ जना पत्रकार तथा कर्मचारीको सहभागिता छ ।