• १२ साउन २०८१, शनिबार

आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै

blog

सन्थाल जातिले सोहराय मनाउँदै ।

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ ११ गते । अल्पसङ्ख्यक आदिवासि सन्थालहरू यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् । दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले सन्थाल जातिको सबैभन्दा ठूलो पर्वका अवसरमा माघ ११ गते (आज) लाई सार्वजनिक बिदा दिएको छ ।

स्वस्थानी पूर्णिमाभन्दा दुई दिनअघि सुरु भएर तीन दिनपछिसम्म मनाइने सोहरायको आज मुख्य दिन हो । नगरका प्रवक्ता भूलबहादुर कार्कीले भन्नुभयो, "स्थानीय सरकार गठन भएयता हरेक वर्ष सन्थाल दाजुभाइको सोहराय पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएका छौं । बिदा दिने मात्र होइन, सन्थाल समुदायसँग अन्तरघुलन कार्यक्रम पनि आयोजना गरिरहेका छौं । रतुवामाई नगरमा सन्थालको जनसङ्ख्या ६ हजारभन्दा बढी छ ।" 

मोरङ र झापामा मात्र बसोवास रहेका सन्थालहरूले माघ ९ गतेको राति पुरै जाग्राम बसेर चाडको पहिलो दिन ‘काराम’ (पुराण)को समापन गरेका छन् । काराम समापन गरेपछि पर्व औपचारिक रुपमा सुरु हुन्छ । रतुवामाई नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका लुखीराम हास्दाले भन्नुभयो, "माघ १० गतेदेखि महान् पर्व सोहराय सुरु हुने भएकोले सन्थालहरूले सोहरायको अवधि भर कुनै भवितव्य नहोस भन्ने कामना गर्दै ‘काराम’को आयोजना गरेका हुन् । चाड सुरु हुनुअघि नै सन्थालहरूले सोहरायका लागि राम्रा लुगा मिठो मसिनोको जोहो गरिसकेका हुन्छन् । ६ दिनसम्म चल्ने यो पर्वमा आफन्तहरू भेला हुने मीठो मसिनो खाने खुवाउने क्रम साताभरि चल्ने गर्छ ।" 

सँधै खेतीपाति र सिकार खोज्न जङ्गलतिर जाने सन्थालहरू पछिल्लो समय जङ्गलमा सिकार गर्न प्रतिबन्ध लागेपछि कृषिमा नै निर्भर छन् । आदिकालमा औलोको महामारी पनि तराईमा झाडी फाँडेर जमिनलाई आवाद गराउने सन्थालहरू हाल गरिबीको रेखामुनि छन् । यद्यपि आफ्नो क्षमता अनुसार पर्व मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका पूर्व सचिव बुद्धिलाल सोरेन बताउनुहुन्छ । सोरेनका अनुसार पहिलो दिन नुहाइधुवाई गरी शुद्ध गरिन्छ । पहिलो दिनको कार्यक्रमलाई ‘कोरम’ भनिन्छ । दोस्रो दिन घर घरमा पूजाआजा हुन्छ । चेलीबेटीहरू ज्वाइँ भान्जा भान्जीहरू माइत मावल जान्छन् । उनीहरूलाई मिठो मसिनो खुवाउने, दक्षिणा दिने चलन हुन्छ । जुन कार्यलाई ‘दाका’ भनिन्छ । दाका उतार्न धेरै कठिन हुने सन्थाल बुढापाका हरू बताउँछन्। तेस्रो दिनको विधिलाई ‘खुम्टा’ भनिन्छ। तेस्रो दिन पशु पन्छीहरूको पुजा आजा हुन्छ । 

चौथो दिन ‘जाली’ हुन्छ । जालीको विधिबारे सन्थालका पाकाहरू पनि अनभिज्ञ छन् । तर, पनि उक्त दिन फर्सी, कुभिण्डो, घिरौंलालगायतका तरकारीहरू एकै ठाउँमा पकाएर खाने गरिन्छ। जालीको दिन पूरै शाकाहारी भोजन गरिन्छ । पाँचौं दिनको विधिलाई ‘हाकुकाटकम’ भनिन्छ । यो दिन मुख फेर्नलाई सन्थालहरू माछा र गँगटा खोज्न निस्कन्छन् । पानीमा जाल हानेर विभिन्न प्रकार जलचरको सिकार गरिन्छ र राति माछा, घुँगी, गँगटाको परिकार खाइन्छ । अन्तिम दिन ‘सकरात’ हुन्छ । सम्पूर्ण विधि अनुसार नाचगान गरी सोहरायको समापन गरिन्छ । 

सन्थालहरूको नृत्य पनि अर्को आकर्षण हुने गरेको छ । टुण्डा, घुंघुरा र टमाक (सन्थाल जातिका छमछम बज्ने  गहना)ले सजिएका युवाहरू ड्रम र मादल बजाउँदै नाच्ने गर्छन् । आफ्नै भाषा र लिपि भए पनि उनीहरूको भाषा र लिपिको संरक्षण हुन नसकेको उनीहरूको भनाइ छ । पछिल्लो पुस्ताले त भाषा पनि बिर्सिदै गएकोमा सन्थाल अगुवाहरू चिन्तित छन् । 

मोरङको उर्लाबारी नगरपालिकामा सय घरधुरी सन्थाल बसोवास गर्छन् । उर्लाबारी –९ का वडाध्यक्ष नरबहादुर मोक्तानले भन्नुभयो, सन्थालहरू बिस्तारै राज्यको मूलधारमा आएका छन् । सामाजिक र राजनीतिक रुपमा सक्रिय भएका उनीहरूमध्ये केहीले बाटो बिराए । भारतको झारखण्डमा चलेको आन्दोलनका क्रममा उनीहरूले आफूसँग भएको जग्गा बिक्री गर्दै भारत छिरेपछि उहाँ स्थापित हुन नसकेपछि उनीहरू पुन : फर्के । बिक्री गरेको जग्गा पुन किन्न सकेनन् र उनीहरू जग्गा जमिनविहीन भए ।’ तर, अहिले उनीहरू स्थापित हुने क्रममा छन् । दाताले दिएको १२ धुर जग्गामा उनीहरू ९ वटा ‘मजि’( समूह) बनाएर सामूहिक पूजा गर्न थालेका छन् । 

"विगतमा कसैले कुनै पनि आर्थिक सहयोग नगर्दा उनीहरू सोहराय पर्व मनाएको ऋण तिर्न नसकेर विस्थापित भएका हुने गर्थे । तर, अहिले स्थानीय सरकार गठन गरेपछि उनीहरूको सीप, संस्कृति र भाषाको जगेर्नाका लागि वडा र नगरले समेत सहयोग गरिरहेको छ", वडाध्यक्ष नरबहादुर मोक्तानले भन्नुभयो ।