• २३ वैशाख २०८१, आइतबार

बुद्ध वंश नरसंहारको कथा मूर्तिमा कोरिँदै

blog

हजारौँ शाक्यको वध गरेको इतिहासमा प्रतिमा निर्माण गर्दै मूर्तिकार ।

जानु पाण्डे

कपिलवस्तु, माघ १० गते। मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याई छ। छिनो, हथौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिका देवीको मूर्तिलाई अन्तिम स्वरूप दिन लाग्नु भएको छ। मूर्तिकार यमबहादुर थापा सुकेको रुख मुनि ध्यानमा बस्दै गरेको बुद्धको प्रतिमा निर्माण गर्नुभएको छ। 

शाक्यको वध हुनु अगाडि गौतम बुद्धको ध्यान मुद्रा उहाँले मूर्तिमार्फत दर्साउन खोज्नु भएको छ। मूर्तिकारले विरुधक, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, सिद्धार्थ गौतम बुद्ध, शाक्य वंशको पतन झल्किने गरी मूर्ति निमार्ण गरिएको छ।

कपिलवस्तुको सरगहवामा राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकार काममा व्यस्त देखिएका छन्। कार्यशालामा देशभरका १५ मूर्तिकार र १५ जना सहयोगीले पुस २३ गतेदेखि मूर्ति निर्माण गर्दै आउनु भएको छ। सोमबारसम्म चलेको कार्यशालामा बुद्धको वंश नरसंहारको कथा मूर्तिमार्फत कोरिएको छ।

ललितकलामा मास्टर्स अध्ययन गर्नुभएकी राणा चार दशकदेखि मूर्ति बनाउँदै आउनुभएको छ। कार्यशालामा धेरै मूर्तिकारसँग काम गर्न र सिकाई र अनुभव साटासाट गर्न अवसर पाएको उहाँको भनाइ छ। उहाँले शाक्य नरसंहारको कथा मूर्तिमा उतार्न पाउँदा गौरवको महसुस गर्नुभएको छ। मूर्तिले पर्यटकलाई इतिहास बुझाउन सजिलो हुने उहाँको भनाइ छ। 

लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र स्थानीयको सहयोगमा शाक्यको सामूहिक वधस्थल सगरहवा (लम्बुसागर) को प्राचीन कथा कोर्न लागिएको हो। ई.पु. चौथो शताब्दी अगाडि भएको घटनालाई दर्साउने गरी मूर्ति निर्माण गरिएको लुम्बिनी विकास कोषको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो। कार्यशालामा बुद्ध, शान्ति र युद्ध झल्काउन खोजिएको छ। मूर्ति निर्माणका लागि बाणगंगा नदी (प्राचीन भागीरथी) बाट एक वर्ष अगाडि ढुङ्गा ल्याइएको थियो।

सगरहवामा कौशल नरेश विरूढकले ७७ हजार शाक्यको सामूहिक नरसंहार गरेको बौद्ध साहित्यमा उल्लेख भएको बौद्ध दर्शनका विज्ञ पोमनारायण पौडेलले बताउनुहुन्छ। नरसंहारको स्मरणमा सयौँ स्तुपाहरु निर्माण गरेको चिनियाँ यात्री हुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ। सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुुरहरले उत्खनन अन्वेषण गर्नुभएको थियो। उत्खनन गर्दा ठुलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको सङ्ख्यामा साना स्तूपा र मुख्य स्तूपा भित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री भेटिएको लुम्बिनी विकास कोषका तिलौराकोट साइट प्रमुख माधव आचार्यले बताउनुभयो।

यो पनि पढ्नुहोस