जानु पाण्डे
कपिलवस्तु, माघ ८ गते । मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याइ छ । छिनी, हतौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिकादेवीको मूर्तिलाई अन्तिम स्वरूप दिन लाग्नु भएको छ ।
मूर्तिकार यमबहादुर थापा सुकेको रुखमुनि ध्यानमा बस्दैगरेको बुद्धको प्रतिमा निर्माण गर्नुभएको छ । शाक्यहरूको वध हुनु अगाडि गौतम बुद्धको ध्यान मुद्रा उहाँले मूर्ति मार्फत दर्साउन खोज्नु भएको छ । मूर्तिकारले विरुधक, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, सिद्धार्थ गौतम बुद्ध, शाक्य वंशको पतन झल्किने गरी मूर्ति निर्माण गरिएको छ ।
कपिलवस्तुको सरगहवामा राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारहरू काममा व्यस्त देखिएका छन् । कार्यशालामा देशभरका १५ मूर्तिकार र १५ जना सहयोगीले पुस २३ गतेदेखि मूर्ति निर्माण गर्दै आउनुभएको छ । सोमबार (माघ ८ गते) सम्म चल्ने कार्यशालामा बुद्धको वंश नरसंहारको कथा मूर्तिमार्फत कोर्न लागिएको छ । जसका लागि ३० जना मूर्तिकार अन्तिमस्वरुप दिन कस्सिनु भएको छ ।
ललितकलामा मास्टर्स अध्ययन गर्नुभएकी राणा चार दशकदेखि मूर्ति बनाउँदै आउनुभएको छ । कार्यशालामा धेरै मूर्तिकारसँग काम गर्न र सिकाइ र अनुभव साटासाट गर्न अवसर पाएको बताउनुभयो । उहाँले शाक्य नरसंहारको कथा मूर्तिमा उतार्न पाउँदा गौरवको महसुस गर्नुभएको छ । निर्माण भएका मूर्तिले पर्यटकलाई इतिहास बुझाउन सजिलो हुने बताउनुभयो ।
लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र स्थानीयको सहयोगमा शाक्यको सामूहिक वधस्थल सगरहवा (लम्बुसागर) को प्राचीन कथा कोर्न लागिएको हो । ई.पू. चौथो शताब्दीअघि भएको घटनालाई दर्शाउनेगरी मूर्ति निर्माण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । कार्यशालामा बुद्ध, शान्ति र युद्ध झल्काउन खोजिएको छ । मूर्ति निर्माणका लागि बाणगंगा नदी (प्राचीन भागीरथी) बाट एक वर्षअघि ढुङ्गा ल्याइएको थियो ।
सगरहवामा कौशल नरेश विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेको बौद्ध साहित्यमा उल्लेख भएको बौद्ध दर्शनका विज्ञ पोमनारायण पौडेलले बताउनुभयो । बाबु प्रसेनजितलाई झुक्याएर राजा विरुद्धको विवाह भएको थियो । शाक्यहरूले शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गराइदिएका थिए । दासीपुत्री भएको थाहा पाएपछि प्रतिशोधमा विरूढकले प्राचीन कपिलवस्तु राज्यका हजारौँ शाक्यहरूको सामूहिक वध गरेको बुद्ध दर्शनमा उल्लेख छ ।
सो स्थानमा नरसंहारको स्मरणमा सयौँ स्तुपाहरु निर्माण गरेको चिनियाँ यात्री हुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुुरहरले उत्खनन अन्वेषण गर्नुभएको थियो । उत्खनन गर्दा ठुलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको सङ्ख्यामा साना स्तूपा र मुख्य स्तूपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री भेटिएको लुम्बिनी विकास कोषका तिलौराकोट साइट प्रमुख माधव आचार्यले बताउनुभयो ।