• १६ भदौ २०८१, आइतबार

कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : गोरखापत्र

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो । 

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा. कार्कीलाई भन्नुभयो, “तपाईँले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईँ धरान जानुस् । कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”

यसैबिच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभयो ।  

प्रधानमन्त्री  ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्य मन्त्री बस्नेतलाई बोलाएर बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभयो ।