• ११ मंसिर २०८१, मङ्गलबार

सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय

blog

काठमाडौँ, माघ ७ गते । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ ।

मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताउनुभयो । उहाँले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “क्षमताको राम्रो अभ्यास गर्न पाइने भएकाले अन्यभन्दा ती तीन मन्त्रालय सहसचिवको रोजाइमा पर्ने गरेको हो ।”

उहाँका अनुसार कर्मचारीको मानसिकता सेवा अवधिमा कम्तीमा एक पटक प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुपर्छ भन्ने भएकाले गृह मन्त्रालय र आर्थिक रूपमा नीतिगत व्यवस्थापनको काम गर्नका लागि अर्थ मन्त्रालय रोज्ने गरेका हुन् । ती मन्त्रालयमा जाँदा प्रशासनिक सुधार गर्दै काम गरेर आफ्नो भूमिका देखाउन पाइने उहाँको बुझाइ छ । सहसचिवको सरुवा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ ।

नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेले गृह र अर्थ मन्त्रालय भनेको शासकीय क्षमताको प्रभावकारी कार्यान्वयन गर्ने मन्त्रालय भएकाले अधिकांश सहसचिवको रोजाइमा पर्ने बताउनुभयो । गृह र अर्थ मन्त्रालयमा शक्तिको व्यापक ‘नेटवर्क’ हुने भएकाले काम गर्दा आत्मसन्तुष्टि पनि हुने बताइन्छ ।

उहाँले भन्नुभयो, “शासकीय काममा शक्तिको राम्रो र नराम्रो दुवै अभ्यास गर्न सकिन्छ तर कर्मचारीले गृह र अर्थ मन्त्रालय रोजे भन्दैमा सबैलाई नराम्रो दृष्टिकोणले मात्र हेर्नु हुँदैन । शासकीय क्षमताको काम गर्ने क्रममा दण्ड, पुरस्कार र आत्मसन्तुष्टिका लागि पनि गर्नुपर्ने हुन्छ ।” सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कर्मचारी जीवनमा गृह प्रशासनको अनुभव नलिँदा कर्मचारी निपुण नहुने भएकाले कर्मचारी प्रमुख जिल्ला अधिकारी बन्न खोज्ने गरेको बताउनुभयो । “अर्थ मन्त्रालय अर्थतन्त्रको व्यवस्थापनमा नीतिगत काम गर्दै स्रोतको परिचालन गर्न मिल्ने निकाय भएकाले सहसचिवको रोजाइ अर्थ मन्त्रालय पर्ने गरेको हो,” उहाँले भन्नुभयो ।

गत मङ्सिरको पहिलो साता ७१ जना सहसचिवको सरुवाका क्रममा झन्डै एक महिनाभन्दा बढी समय शक्ति केन्द्रबिच कुरा नमिलेरै सरुवा अलमल भएको थियो । अहिले पनि २० भन्दा बढी सहसचिवको सरुवाका लागि मन्त्रालयमा प्रस्ताव आएको र शक्ति केन्द्रमा जान खोज्नेको सङ्ख्या धेरै भएकाले सरुवाका लागि मन्त्रालयले प्रस्ताव मन्त्रीपरिषद्मा सिफारिस गर्न नसकेको मन्त्रालयले जनाएको छ । अहिले कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये सबै सेवा र समूहमा गरेर ८०९ सहसचिवको दरबन्दी रहेको राष्ट्रिय किताबखानाले जनाएको छ ।