युद्धले कसैको हित गर्दैन भन्ने यथार्थबोध हुँदाहुँदै पनि विश्वमा अनेक युद्ध भएका भए । दुई पटक त महायुद्ध नै भएर सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भइसक्दा पनि शक्ति राष्ट्रबिच शीतयुद्ध थामिएन । जसले गर्दा कुनै पनि बेला पुनः विध्वंशकारी विश्वयुद्ध हुन सक्ने आशङ्का कायमै भएकोले खास गरी दुई ध्रुवमा विभाजित देशभन्दा पृथक् रहन चाहने केही शान्तिकामी नेताहरूको अग्रसरतामा सन् १९६१ मा ‘असंलग्न आन्दोलन’ को सुरुवात भयो । यति बेला यही आन्दोलन संयुक्त राष्ट्रसङ्घ पछिको सबैभन्दा धेरै सदस्य राष्ट्र भएको सङ्गठनका रूपमा खडा हुनुले यसको महìव र सान्दर्भिकता विश्वसामु पुष्टि हुँदै गयो । आन्दोलनको १९ औँ शिखर सम्मेलन यही माघ ५–६ गते युगान्डा (कम्पाला) मा हुँदै छ । यस सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले सम्मेलनमा ‘विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहल’ सम्बन्धी सत्रलाई सम्बोधन गर्नुहुने कार्यव्रmम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको हैसियतले नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट हुन्छ । नवौँ शिखर सम्मेलनसम्म राष्ट्रप्रमुखका तर्फबाट सहभागिता जनाउँदै आएकोमा १० औँ शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी हुनुभएको थियो । यसै गरी १४ औँ शिखर सम्मेलनमा तत्कालीन उपप्रधानमन्त्री केपी शर्मा ओली र १७ औँ सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनको सहभागिता रहेको थियो । प्रत्येक तीन वर्षमा हुँदै आएको शिखर सम्मेलनको १८ औँ संस्करणको अजरबैजान सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रहेको थियो । १८ औँ सम्मेलनसम्म आइपुग्दा यस आन्दोलनमा १२० सदस्य राष्ट्र, १७ पर्यवेक्षक तथा १० पर्यवेक्षक सङ्घसङ्गठनको सहभागिता रहनुले विश्वमा असंलग्न आन्दोलनप्रति ऐक्यबद्धता वृद्धि हुँदै गएको अनुभव छ ।
असंलग्न आन्दोलनको प्रारम्भ कुनै पनि शक्ति गुटमा नलागी तटस्थ रहेर आर्थिक विकास र विश्व शान्तिमा योगदान पु¥याउने उद्देश्यले भयो । सन् १९५५ को अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा अफ्रिकी–एसियाली क्षेत्रका २५ मुलुकका नेताहरूको भेलाले यसको बीजारोपण ग¥यो । परस्पर सम्मान र सहयोगमा विश्वास गर्ने विकासोन्मुख मुलुकहरूको साझा मञ्च बनाउने ध्येयले सन् १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा प्रथम शिखर सम्मेलन गरिएपछि औपचारिक रूपमा असंलग्नताको सिद्धान्तमा आधारित यो आन्दोलन अस्तित्वमा आएको हो । नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्र भएकोले प्रारम्भदेखि नै उच्च प्राथमिकता साथ सहभागी हुँदै आएको छ । यस आन्दोलनका अभियान्ताहरूमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, बर्माका प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाका प्रधानमन्त्री सुकार्नो, इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिर, घानाका राष्ट्रपति क्वामे व्रmुमा र तत्कालीन युगोस्लाभियाका राष्ट्रपति जोसिप ब्रोज टिटो एवं नेपालका तत्कालीन राजा महेन्द्रको नाम नेतृत्वकर्ताको रूपमा सूचीबद्ध छ । एकअर्काबिच अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, अनाव्रmमण, पारस्परिक सहयोग तथा शान्तिपूर्ण सहअस्तित्व (पञ्चशील) का मूलभूत सिद्धान्तमा आधारित असंलग्न आन्दोलनलाई राजनीतिक विश्लेषकहरूले शान्तिप्रिय दबाब समूह पनि भन्ने गरेका छन् ।
असंलग्न आन्दोलन सङ्गठनभन्दा पनि एक किसिमको अभियान तथा आह्वान हो । यसको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरूको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास साझेदार हुनुका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । नेपालको विदेश नीति नै असंलग्न आन्दोलनका सिद्धान्तमा आधारित हुँदै अगाडि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप र सार्वभौमिक समानता हाम्रा लागि महìवपूर्ण भएको राजनीतिक विश्लेषकहरूको भनाइलाई नकार्न सकिँदैन ।
असंलग्न आन्दोलन संयुक्त राष्ट्रसङ्घपछिको विश्वको सम्पूर्ण क्षेत्रका मुलुकको प्रतिनिधित्व भएको महìवपूर्ण मञ्च हुन सक्नु यसको मूल उपलब्धि हो । नेपालले निरन्तर सहभागी भएर यसको आगामी गति र दिशाका सम्बन्धमा महìवपूर्ण विचारहरू राख्दै आएको छ । नेपालको संविधानमै ‘संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताको आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने’ उल्लेख गरिएर शान्ति र विकासको पक्षमा रहेको स्पष्ट दिशानिर्देश गरिएकोले यस्ता मञ्चहरूमा सहभागिता जनाउनु अपरिहार्य हुन आउँछ । विश्व मञ्चहरूमा उच्च सहभागिता जनाएर विचार मन्थन गरिँदा विश्वको ध्यान आकृष्ट हुने गरेको थुप्रै उदाहरण छन् । यस शिखर सम्मेलनलाई पनि नेपालले सदुपयोग गर्ने नै छ । आन्दोलनको संस्थापक राष्ट्रमध्ये भएकोले आगामी शिखर सम्मेलनको आयोजना गर्नेतर्फ पहल गर्न पनि उत्तिकै आवश्यक देखिन्छ ।