• १६ भदौ २०८१, आइतबार

दुर्घटनास्थलमा स्मृति स्तम्भ

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, माघ २ गते । पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेती खोचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको सोमबार एक वर्ष भएको छ । दुर्घटनास्थलमा पोखरा महानगरले स्मृति स्तम्भ निर्माण गरेको छ । स्मृतिपार्कभित्र बनाइएको स्तम्भ पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गर्नुभयो । दुर्घटनाको भयानक त्रासदीको वार्षिकीमा सोमबार पोखरेलीले विविध कार्यव्रmम गरी त्यो दिन सम्झिएका छन् । स्मृति स्तम्भमा दुर्घटनामा निधन भएका सबैको नाम, ठेगाना राखिएको छ । 

प्रमुख आचार्य दुर्घटनास्थलमा व्यवस्थित पार्क बनाउन यस पटक १० लाख बजेट विनियोजन गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सेतीका दुवैतिरका वडाध्यक्षज्यूलाई यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएका छौँ । यहाँ व्यवस्थित पार्क बनाउने छौँ ।’’ यति एयरलाइन्ससँग यसबारे कुरा भएको प्रमुख आचार्यको भनाइ छ । पार्कलाई दिवङ्गतका आफन्त, पोखरेली र पर्यटकको आगमनस्थल बनाउने योजना छ । दुर्घटनास्थलमा अझै यती एयरको जहाजका केही भाग बाँकी छन् । दुर्घटनास्थलको खोचमा झाडी पलाइसकेको छ । विमानको भग्नावशेष रहेको ठाउँ नजिक नेकपा (माओवादी केन्द्र) ले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । दुर्घटनामा निधन हुनेमा माओवादीका प्रदेश सदस्य त्रिभुवन पौडेल र प्रेस सेन्टरका सदस्य अनील शाहीसमेत हुनुुहुन्थ्यो । 

श्रद्धाञ्जली सभामा उपस्थित दिवङ्गतका आफन्त भावुक देखिन्थे । विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटना जाँच आयोगले करिब नौ महिनामा तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरिसकेको छ ।